१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका पालिकाहरु स्थानीय पाठ्यपुस्तक तयार गर्दै


२१ मंसिर २०७७, आइतबार  

0
Shares

दक्षिण ललितपुको गोटिखेलस्थित माहाँकाल गाँउपालिका कार्यालय स्थानीय पाठ्यक्रम सार्वजनिक पछि विद्यार्थीलाई वितरण गरेको पुस्तकका साथमा । फाइल तस्विर ः ललितपुर खबर

२१ मंसिर ०७७, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले यस क्षेत्रका विद्यालयहरुमा पठनपाठनका लागि ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका नामक स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि सो पाठ्यपुस्तक तयार गरेको हो ।
नगरले कक्षा १ देखि कक्षा ८ सम्मका सामुदायिक, संस्थागत र गुठीका विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि स्थानीय पाठ्यक्रम मस्यौदा २०७६ समेत तयार गरिसकेको छ । नगरले कक्षा १ र ८ का विद्यार्थीका लागि ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका’ नामक पुस्तक प्रकाशन गरिसकेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए ।
उनले भने, “यसवर्ष हामीले ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका–कक्षा १’र ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका कक्षा ८’ को पुस्तकमा नगरपालिकाको चिनारी समेटेर पुस्तक तयार गरिसकेका छाँै, यसै यो बर्षदेखि नै पढाउन शिक्षकहरु तयार पनि गरिसक्याँै ।”
नगरले आउँदो वर्ष कक्षा २ र कक्षा ७ का लागि स्थानीय पाठ्यपुस्तक तयार गर्ने निर्णय गरेको छ । सबै कक्षाका लागि एकैपटक पाठ्यपुस्तक तयार गर्न सम्भव नभएकाले वर्षैपिच्छे तयार गर्दै जाने योजना रहेको श्रेष्ठले जानकारी दिए ।
नगरले यो शैक्षिक सत्रमा जोर बिजोर प्रणाली छुट्ट्याएर र्कुिसका आधारमा भौतिक दूरी कायम गराएर पठनपाठन पुनः सञ्चालन गराउने विषयमा छलफल भईरहेको मेयर श्रेष्ठको भनाइ छ ।
दक्षिण ललितपुरको महाङ्गाल गाउँपालिकाले गतवर्ष देखि नै ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था’को सहयोगमा ऊर्जा सम्बन्धित स्थानीय पाठ्यपुस्तक पढाइरहेकोे गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए ।
पालिका प्रमुख दाहालले भन, “कक्षा १ देखि ५ सम्म २० पूर्णाङ्कको पाठ्यपुस्तक गत वर्षको एक शैक्षिक सत्रमा पढाइ सकेर यो वर्षको शैक्षिक सत्रमा समेत पढाइरहेका छाँै ।” तिहार सकिएलगत्तै गाउँपालिकाका सबै विद्यालय सञ्चालन भइरहेका दाहालले जानकारी दिए ।
गोदावरी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गर्न यसवर्ष बजेट बिनियोजना गरिसकेको बताएको छ । गोदावरीका जातजाति, धर्मसंस्कृतिको विषयमा समेटिएको पुस्तक आउँदो नयाँ शैक्षिक सत्र २०७८ सालबाट शुरु गर्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताए ।
वाग्मती गाउँपालिकाले सो पाठ्यपुस्तक तयार गर्न यसवर्ष बजेट विनियोजन गरिसकेको जानकारी दिएको छ । गाउँपालिकामा विद्यार्थीलाई कस्तो शिक्षाको आवश्यकता परेको छ भनी पहिचान गरेर मात्रै कृषि, पर्यटन, संस्कृति वा भौगोलिक आधारमा पुस्तक तयार गरिने वडा नं २ माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार चौलागाईंले बताए ।
कोञ्ज्योसोम गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । कोञ्ज्योसोममा तामाङ जातीको बाहुल्य रहेको हुँदा यसै अनुसार पाठ्यपुस्तक तयार गर्ने भन्ने विषयमा कुरा अघि बढिरहेको गाउँपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले बताए ।
ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गर्ने विषयमा छलफल भइनसकेको जनकारी दिएको छ । कोरोना कहरका कारण यस विषयमा सम्बन्धित निकायसँग छलफल नै गर्न बाँकी रहेको हुँदा कुन विषय पढाउन उचित भन्ने टुङ्गो नभइसकेको प्रमुख चिरीबाबु महर्जनले बताए । मेयर महर्जनले भने, “ महानगरपालिकामा एक चरणको बैठकबसी त्यसपछि शिक्षाविद्सँग छलफल गरेर मात्र यसतर्फ ध्यान दिनेछाँै ।”
महानगरपालिकामा दिनानुदिन बढ्दो कोरोना संक्रमणका कारण विद्यालय कहिलेबाट खोल्ने भन्नेसमेत निश्चित भइनसकेको महर्जनले जानकारी दिए । ललितपुरका २९ वडामा विभिन्न जातजाति र भाषाभाषीका विद्यार्थी हुँदा जात्रापर्व, कला र संस्कृति अथवा अन्य कुनै विषयमा भए पनि पुस्तक प्रकाशन हुनसक्ने शिक्षा शाखा उपसचिव महेन्द्रबहादुर श्रेत्रीले बताए । रासस

 

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ४ : ३९ बजे