२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाको पिसिआर परिक्षण अब घरमै



फाइल तस्विर

६ जेठ ०७८,काठमाडौं । अब बिरामी वा व्यक्तिलाई कोरोनाको पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो ।
जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पिसिआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि पिसिआर परीक्षणका लागि प्रयोशगाला वा अस्पताल जानुपर्ने थियो ।
जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागू गरेपछि अब कोही पनि व्यक्तिले पिसिआर परीक्षणका लागि घरमा नै स्वास्थ्यकर्मी बोलाउन सक्ने बताए । उनले बिरामी भएको वा सङ्क्रमण लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालाबाट खट्ने स्वास्थ्यकर्मीले घरमै आएर पिसिआरका लागि नमूना सङ्कलन गर्ने जानकारी दिए । उनले यसरी घरमा नै बोलाएर पिसिआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु ५०० लाग्ने बताए ।
अहिले सरकारी प्रयोगशालामा कन्ट्याक्ट टे«सिङमा परेकालाई निःशुल्क र आफूखुशी पिसिआर गराउनेलाई रु एक हजार तथा निजी प्रयोगशालाले रु दुई हजार लिने गरेका छन् । मापदण्डमा बिरामीले इच्छाएको अवस्थामा कोरोना पिसिआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीबाट बिरामीको घरबाटै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने उल्लेख गरिएको छ ।
घरमा गएर स्वाब सङ्कलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना सङ्कलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ । अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पिसिआर परीक्षण गर्ने अनुमति पाएका छन् । ती प्रयोशगालाले अहिले दैनिक करिब २० हजार पिसिआर परीक्षण गर्ने गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १२ : ३२ बजे