१६ जेठ ०७८, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवहारिक र वस्तुगत कार्यान्वयनका लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनका लागि पहल लिइहाल्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग जोडिएका तीन वटा अध्यादेश जारी गरेपछि मन्त्री पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।
अर्थमन्त्रीले निर्वाचन लोकतन्त्रको प्राण भएकाले त्यसका लागि यथेष्ट बजेट विनियोजन भएको जानकारी दिए । नयाँ सरकार गठनको सबै विकल्प सकिएपछि प्रतिनिधिसभा विघटन भएको तथ्य पेश गर्दै उनले निर्वाचन राष्ट्रिय अभिभारा भएकाले त्यसलाई सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
अर्थमन्त्रीले भने “स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन गराउन हामी प्रतिवद्ध छौँ । बजेटले निर्वाचनलाई यथेष्ट महत्व दिएको छ । आवश्यक बजेट विनियोजन गरिएको छ ।” सरकारले आगामी कात्तिक २६ गते र मङ्सिर ३ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।
उनले सरकारले संविधानसम्मत रूपमा नै बजेट ल्याएको समेत उल्लेख गरे । “कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन, ल्याए पनि पूर्ण बजेट ल्याउनु हुँदैन भन्ने बहस सुनियो । यो बहस हुनुलाई मैले सकारात्मक रूपमा लिएको छु”, अर्थमन्त्रीले भन्नुभयो, “सरकारले संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो । यस्तो सङ्कटको बेला बजेट नल्याउने भन्ने कुरा सान्दर्भिक हुँदैन ।”
प्रतिक्रिया