१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नवनियुक्त मन्त्रीको शपथ   



२७ जेठ ०७८, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा आज नियुक्ति, हेरफेर र विस्तार गरी पूर्णता दिएका थिए ।
नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिएको हो । यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । पछिल्लो पटक गत वैशाख ३० गते ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री हुनुभएका ओलीले वैशाख ३१ गते पहिलो र यही जेठ २१ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
शपथ लिनेमा गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री हुन् ।
यसैगरी राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन मन्त्रालयका राज्यमन्त्री पदको शपथ गराएका  थिए ।  समारोहमा राज्यका उच्चपदस्थ पदाधिकारी र कर्मचारीको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।