
२६ असार ०७८, काठमाडौँ । आचारसंहिताबारे पर्याप्त शिक्षा नपुगेर सञ्चारमाध्यममा सही समाचार नआएको भन्दै विज्ञहरुले कारबाहीलाई भन्दा सचेतना कार्यक्रम बढाउन प्रेस काउन्सिल नेपाललाई सुझाएका छन् ।
प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिता एकै सिक्काका दुई पाटा भएको बताएका छन् । काउन्सिलले आयोजना गरेको दुईदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्तासमेत रहेका पूर्वअध्यक्ष कार्कीले विवाद, गुनासा र समस्यालाई हल गर्दै संस्थाको गरिमा स्थापित गर्नुपर्ने बताए ।
उनले नेपाली मिडियाको विकासको बारेमा अध्ययन गर्न सुझाव दिँदै नयाँ मिडियालाई बहिस्कार नगरी परिस्किृत गराउनुपर्नेमा जोड दिए । पत्रकारितालाई मर्यादित गराउन अनुगमन र कारबाहीमात्र भन्दा पनि आचारसंहिता शिक्षासमेत व्यापक बनाउन आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले काउन्सिलको भूमिका बृहतक्षेत्रमा बाँडिदा मुख्य आचारसंहिता अनुगमनको काम ओझेलमा पर्दै गएको बताए । उनले उजुरी र अनुगमनबारे पत्रकारसँगै आम सर्वसाधारणलाई शिक्षा दिन आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार बबिता बस्नेतले देशैभरका मिडियाको अवस्था र विश्वसनियताबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्न सुझाव दिइन् ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले स्वतन्त्रता निरपेक्ष हुन नसक्ने भन्दै पत्रकारका गतिबिधिका विषयमा काउन्सिलको आचारसंहितामा समेटिनुपर्ने धारणा राखे ।
अधिवक्ता अनन्तराज लुँइटेलले काउन्सिलले प्रेस स्वतन्त्रता, आचारसंहिता पालना र पत्रकारिता जगतलाई जिम्मेवार बनाउन सरकारलाई सुझाव दिनुपर्ने भन्दै पत्रकारको योग्यता जाँचको विषयमा बृहत छलफल आवश्यक रहेको उल्लेख गरे ।
विज्ञापन बोर्डका सदस्य एवं प्रेस सेन्टरका नेता बलराम थापाले प्रेस स्वतन्त्रताको अनुगमन सहज काम नभएको बताउ । उनले विज्ञापन बोर्डको अवधारणा मिडिया मिडिया विकाससँग जोडिएको बताए ।
प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले काउन्सिलले ठुला घटनाहरुमा आचारसंहिता अनुगमनका कामलाई प्रभावकारी बनाउन नसकेको गुनासो गरे ।
फोनिजका कोषाध्यक्ष अमरध्वज लामाले अनलाइनको सूचिकरण अनुसार अनुगमन प्रभावकारी गराउन चुनौती थपिएको बताए
प्रेस काउन्सिलका सदस्य दीपक पाण्डेले काउन्सिले सुधारका लागि बोर्ड समिति तयार रहेको भन्दै प्रेस स्वतन्त्रताको संरक्षण काउन्सिलको दायराभित्र रहेको बताए ।
काउन्सिलका सदस्य हरिप्रसाद जोशीले धन्यवाद राख्दै विज्ञहरुका सुझावलाई समेट्दै पत्रकारितालाई मर्यादित बनाउनेतर्फ काउन्सिल केन्द्रीत हुने बताए ।







प्रतिक्रिया