
२७ असार ०७८, काठमाडौं । वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौं महानगरका मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापले आइतबार संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘तर, तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ,’ शुभारम्भपछि सम्वोधन गर्दै उनले भने, ‘ हामीले यस अघि पनि नेपाली सेनासँगको सहकार्यमा सरसफाइ, वृक्षरोपणलगायतका काममा सहकार्य गर्दै आएका छौँ । अहिले सञ्चालन गरेको यो सेवासँगै अस्पतालबाट महानगरवासीले हेमोडाइलाइसिसको सहज र स्तरीय सेवा प्राप्त गर्नेछन् भन्नेमा विश्वस्त छु ।’
प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम पनि शुरु गरेको पनि जानकारी दिए ।
शाक्यले काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्री विभिन्न अस्पताललाई वितरण गरेको पनि जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले अनुदान स्वरुप दिएको ३ करोड रुपैयाँबाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, आठ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । महानगरपालिका र अस्पतालबीच वि।सं.२०७६ पुस २ गते उक्त सेवा सञ्चालन गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको थियो ।
सम्झौता अनुसार जडान गरिएका आठ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिने अस्पतालले जानकारी दिएको छ ।







प्रतिक्रिया