१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मध्यपुरथिमिको तीन अर्ब ३८ करोड ४९ लाखकाे बजेट पारित   



२७ असार ०७८, भक्तपुर । भक्तपुर  मध्यपुरथिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु तीन अर्ब ३८ करोड ४९ लाख ३५ हजारको बजेट सर्वसम्मतिले पारित गरेको छ ।
विगत वर्षमा विवाद र बहिष्कारले बजेट पारित गर्न हम्मे पर्ने नगरपालिकाले यस वर्ष पाँचौँ नगरसभामा उपप्रमुख अञ्जनादेवी मधिकर्मीले सभामा प्रस्तुत गरेको बजेट व्यापक छलफलपछि सर्वसम्मतिले पारित गरेर उदाहरणीय नमूना प्रस्तुत गरेको हो ।

नगरसभाले चालू तथा पूँजीगततर्फ रु एक अर्ब ९२ करोड ३४ लाख ४८ हजार, कमेरोटार जग्गा एकीकरण आयोजनातर्फ रु ८० करोड २१ लाख ११ हजार र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालतर्फ रु ६५ करोड ९३ लाख ७६ हजार बजेट पारित गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले स्वास्थ्यतर्फ नेपाल कोरियामैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐन २०७७ लाई संशोधन गरी सञ्चालक समिति १५ जनाको बनाएर पूर्णता दिइने, अस्पतालका लागि वडा नं २ र ३ मा स्वास्थ्य चौकी आगामी वर्ष सञ्चालनमा ल्याउने, एमआरआई, क्याथ ल्याब, सिटिस्क्यान र ब्लड बैंक सञ्चालनका लागि रु १९ करोडको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता राम थापाले जानकारी दिए ।

त्यस्तै उक्त अस्पतालको पूर्वाधार विकासका लागि रु एक करोड, कोभिड व्यवस्थापनका लागि रु एक करोड, जातीगालको शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि रु लाखको बजेट विनियोजन गरिएको छ ।

नगरसभाले कर्मचारी समायोजन विधेयक २०७८ पारित गर्नाका साथै उपभोक्ता समितिमार्फत सञ्चालन हुने नगरस्तरीय योजनामा उपभोक्ता समिति गठन गर्दा उपप्रमुख तथा वडाध्यक्षको अनिवार्य उपस्थिति र वडास्तरीय उपभोक्ता समिति गठन गर्दा नगरप्रमुख तथा उपप्रमुख उपस्थिति हुनुपर्ने नियम बनाएको छ ।

नगरसभाले नगरपालिकामा कार्यरत कर्मचारीको समायोजनका लागि कर्मचारी समायोजन विधेयक–२०७८ स्वीकृत गरेको छ । उक्त विधेयकले स्थानीय स्वायत्त ऐन २०५५ र सोको नियमावली २०५६ बमोजिम स्थायी नियुक्ति भएका कर्मचारीको समायोजनका लागि बाटो खुला गरेको छ ।

सभाले नगरपालिकामा कार्यरत नगर सामाजिक परिचालिकालाई निरन्तरता दिँदै निजको खाइपाइ आएको पारिश्रमिकमा रु दुई हजार बढाउने निर्णय गरेको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐन २०७७ संशोधन गरी १३ सदस्यीयबाट दुई थप गरी १५ जनाको सञ्चालक समिति रहने गरी पारित गर्ने निर्णय गरिएको छ ।
सभाले नगरपालिकामा हाल कार्यरत २० नगर स्वयंसेवकलाई व्यवस्थापन गर्ने निर्णय गर्दै हाल कार्यरत नगर प्रहरीलाई निरन्तरता दिँदै बाँकी दरबन्दीमा नियमानुसार सेवा करारमा पदपूर्ति गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।