८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


निराजनको थ्रीस्टारसँग दुई वर्षे सम्झौता नविकरण




४ भदौ ०७८, ललितपुर । आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबले निराजन महर्जनलाई अनुबन्ध गरेको छ । शुक्रबार चारपटकको लिग च्याम्पियन थ्रीस्टारले आफ्नो सामाजिक सञ्जालमार्फत निराजनसँग सम्झौता नविकरण गरेको बताएको हो ।
गत सिजनमासमेत युवा खेलाडी थ्रीस्टारबाट खेलेका थिए । नेपाल यू–१२, १४, १८ र १९ वर्षको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका ‘फूल ब्याक’ निराजनले उमेर समूहमा थ्रीस्टारको कप्तानीसमेत गरेका थिए ।
निराजनलाई २७ नम्बरको जर्सी दिँदै थ्रीस्टारका अध्यक्ष अरुनमान जोशीले स्वागत गरे । सम्झौता दुई वर्षको रहने क्लबका प्रतिनिधिले जानकारी दिए ।
क्लबसँग दुई वर्षको सम्झौता गर्ने निराजन दोस्रो खेलाडी भएका छन् । यसअघि राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलानले दुई वर्षको सम्झौता गरेका थिए ।गत जेठमा समापन भएको पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगमा निराजनले धनगढी एफसीबाट खेलेका थिए । टोली उपविजेता भएको थियो ।
यस सिजन लिगलाई थ्रीस्टारले कप्तान बिक्रम लामासहित राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङ, निशान खड्का, अट्याकर संजोक राई, डोना थापालाई अनुबन्धन गरेको छ । विदेशी खेलाडीमा भने क्लबले हालसम्म एक मात्रै राफेल बिदियस रिमलाई जोडेको छ । गत सिजनका गोलरक्षक प्रिसोलाईसमेत क्लबले जोड्ने योजना बनाएको छ ।
नेपाल फुटबल संघ (एन्फा)ले यसपटक लिग २९ कात्तिकबाट आयोजना गर्दैछ । पुरस्कार राशि समेत बढाएको एन्फाले गत वर्षको ५० लाखलाई बढाउँदै यसपटकको विजेताले ७५ लाख पाउने जनाएको छ । यस्तै दोस्रो हुने टोलीले ५० लाख पाउनेछन् ।
१४ क्लब सहभागी रहने लिगको पुछारमा रहने टोली बी डिभिजनमा घटुवा हुनेछ । गत सिजनमा सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा हुँदा बी डिभिजन लिगबाट सातदोबाटो युथ क्लब ए डिभिजन लिगमा बढुवा भएको थियो । न्युज कारखाना
तस्बिर ः थ्रीस्टार क्लब

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ५७ बजे