१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


झण्डै एक अर्वको आइपिओ जारी गर्दै मध्य भोटेकोशी



१३ असोज ०७८, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो ।
निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर प्रतिशेयर रु एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । माग गरिएबमोजिमका शेयरमा असोज २५ गतेसम्म आवेदन नआए ढिलोमा कात्तिक ३ गतेसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धकहरु एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन् ।
आवेदकले सी–आस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत तथा अनलाइनबाट ‘मेरो शेयर’मार्फत शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी र आयोजना प्रभावित तथा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि गरिएको निष्कासनमा आवेदन दिई बाँडफाँटमा परेका शेयरधनीहरुले यस निष्कासनमा पुनः आवेदन दिएमा निजको आवेदन रद्द हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।