तस्विर : पूर्णिमा श्रेष्ठको फेसबुकबाट
१५ असोज ०७८, काठमाडौं । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका ४ मा पर्ने यस हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकीे हुन् । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् ।
सेभेन समिट टे«किङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज शुक्रबार बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिइन् । “धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्”, उनले भनिन्, “धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।”

श्रेष्ठसँगै गएकीकी माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताइन् । फोटोपत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।
पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन् । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार छिन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् ।
पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताएकी थिइन् ।







प्रतिक्रिया