१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक राखियो जमरा   




२१ असोज ०७८,  गोरखा । गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा  विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए । कालिका भगवती मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको प्रमुख भुसालले जानकारी दिए ।
यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको स्थापना गरी देवीको सवारी गराइएको कालिका मन्दिरका मूल पूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । जमरा राख्नुअघि मूल दरबारमा नै पानी घडी स्थापना गर्नुपर्ने प्रचलन रहेको भए पनि दरबार जीर्णोद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी स्थापना गरी घटस्थापना गरिएको उनले बताए ।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलिदिने प्रचलन रहँदै आएको छ ।    यस्तै घटस्थापनाका बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पूजारी इन्सान थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।