१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पशुपतिमा दैनिक एक सय पर्यटकको आगमन



१ मंसिर ०७८, काठमाडौं ।  पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् ।  नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गरी घुम्न चाहने भारत बाहेकका विदेशी पर्यटकका लागि तीन स्थानमा काउण्टरको व्यवस्था गरिएको छ । तिलगंगा, वत्सलेश्वरी र गुह्येश्वरीमा काउन्टर राखी विदेशी पर्यटकलाई टिकट काटेर प्रवेश गराइन्छ ।

पशुपति क्षेत्रमा हाल तीन वटै काउण्टरबाट गरी दैनिक १०० पर्यटक प्रवेश गर्ने गरेको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताए । कोरोना महामारी सुरु हुनुअघि दैनिक ३०० पर्यटक टिकट काटेर पशुपति क्षेत्र घुम्ने गरेका थिए । पशुपति क्षेत्र प्रवेश गर्दा भारत बाहेकका विदेशी नागरिकसँग रु एक हजार शुल्क लिइन्छ ।

कोरोनापछि पशुपतिनाथ मूल मन्दिर पुरानै स्वरुपमा खुला गरिसकिएको कोषले जनाएको छ । पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्न चाहने भक्तजनका लागि बिहानदेखि नै मन्दिर खुला गरिएको कार्यकारी निर्देशक खतिवडाले बताए । पशुपति क्षेत्रमा हुने गरेका सबै धार्मिक, सांस्कृतिक गतिविधि कोरोना अघिकै स्वरुपमा भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।