९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


हस्तकला व्यापार मेला प्रदर्शनीमा अवलोकनकर्ता बढी



५ मंसिर ०७८, काठमाडौं । राजधानीमा जारी हस्तकला व्यापार मेलामा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढेको छ ।

यही मङ्सिर ३ गतेदेखि सुरु भएको नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगितामा राष्ट्रिय अभिलेखालयले पनि एउटा कक्ष लिएर ऐतिहासिक अभिलेखका सामग्री प्रदर्शनीमा राखेको हो । प्रदर्शनीमा १५ औँ शताब्दीमा लेखिएको भागवतपुराण, नेपाल संवत् २९० मा लेखिएको शिवधर्म ग्रन्थको गाताचित्रलगायत सामग्री विशेष आकर्षणका रुपमा रहेका छन् ।

शिवधर्म ग्रन्थको गाताचित्र चोरी भई अमेरिका पुगेकामा सन् २०१३ मा नेपाललाई फिर्ता गरिएको थियो । नेपाल सम्वत् ७८७ मा मैथिली लिपिमा लेखिएको पौराणिक ग्रन्थमा रहेको गाताचित्र, नेपाल संवत् ८३८ को योग विषयको सिद्धसिद्धान्तपद्धति पुस्तकको गाताचित्रलगायत महत्वपूर्ण दस्तावेज प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा अभिलेखालयले प्रकाशन गरेका पुस्तक, वार्षिक मुखपत्र अभिलेखका विभिन्न अङ्क बिक्रीमा समेत राखिएको निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए । प्रदर्शनीमा ऐतिहासिक अभिलेख हेर्ने र पुस्तक किन्न अवलोकनकर्ताको रुचि बढेको पाइएको उनले सुनाए । आजसम्म चल्ने व्यापार मेलामा तीन लाखभन्दा बढीले अवलोकन गरिसकेको महासङ्घले जनाएको छ । आज बेलुकीसम्म पाँच लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेलामा नेपाली मौलिक हस्तकलाका सामग्री खरिदमा पनि अवलोकनकर्ताको रुचि बढेको पाइएको छ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेकाले पनि यस वर्ष मेलामा अवलोकनकर्ता बढी आएका छन् । मेलामा हस्तकलाका रु पाँच करोडभन्दा बढीको सामग्री बिक्री हुने महासङ्घको अनुमान छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  २ : ०८ बजे