१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्थानीय तहसम्मको जनगणनाको प्रतिवेदन प्रकाशनको तयारी   



८ पुस ०७८, काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गर्ने तयारी गरेको छ । विसं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो ।

राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो । विसं २०७८ को जनगणनाको फारम ७७ वटै जिल्लाबाट केन्द्रमा आइसकेको छ । प्राप्त फारामलाई परीक्षण र सम्पादन सकेर कम्प्युटरमा तथ्याङ्क राखिने उनले सुनाए । पुस मसान्तसम्म कम्प्युटरमा तथ्याङ्क प्रवेश गराउन थाल्ने विभागको तयारी छ ।

तथ्याङ्क प्रवेश गराउन सुरु गरेको ६ महिनाभित्र सक्ने गरी काम अघि बढाइने छ । चालू आवमा तथ्याङ्क प्रवेश गराइसकेर आगामी आवको सुरुमै प्रतिवेदन प्रकाशन गरिने लामिछानेले बताए। यस वर्षको जनगणनाको प्रतिवेदन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको अलगअलग सार्वजनिक गर्ने विभागको तयारी छ ।

गत वैशाखमा गणना गर्ने तयारी गरिएकामा नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणकले घरघर पुगेर फाराम भरेका थिए । नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो । जनगणना सुरु भएको ११० वर्षपछि स्थानीय तहसम्मको तथ्याङ्क प्रकाशन हुन लागेको हो । राज्य पुनःसंरचना भएपछिको यो पहिलो जनगणना हो ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ५८ बजे