११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घरको छानो फेरिने कहिले हो ?




१३ पुस ०७८, फुङ्लिङ । एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए पनि पालले छोपिएको छ । घरको सिकुवामा कुकुर छ । घर चुहिन थालेसँगै मान्छेले घर छाड्यो तर कुकुर भने त्यहीँ छ ।
ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका ४ खानी गाउँका पूर्णबहादुर तामाङको त्यो घर पनि गत वर्ष बर्खे झरीले भत्काएको थियो । उनी अहिले अरूको बनाएका घरमा शरण लिएर बसेका छन् । छयहत्तर वर्षीय पूर्णका धेरै वर्ष फेरिए, कपाल सेताम्य भयो तर अहिलेसम्म घरको छानो फेरिएको छैन । अर्थाभावका कारण उनले अहिलेसम्म खरको छानो फेर्न सकेका छैनन् ।
उनका पुर्खाका पालादेखि नै खरले छाएको घरमा बस्दै आएका हुन् । दश वर्ष अगाडि खानी गाउँमा सबै एक प्रकारको घर थियो – खरले छाएको । विस्तारै केही पैसा हुनेले घरको छाना फेर्दै गए । केही विपन्न परिवारको भने अहिले पनि उस्तै छ ।
अरुको घरको छानो हेर्दै मन अमिलो बनाएर बस्नुपर्ने तामाङले बताए । उनले भने, “सबै टिनले छाएको घरमा बस्दा आफू खरले छाएको र त्यसमा पनि झरी पर्दा चुहिने घरमा बस्नुपर्दा आफ्नै भाग्यलाई दोष दिन्छु ।”

सोही गाउँकी सुनमाया तामाङको पनि व्यथा उस्तै छ । उनको आफ्नै आँखाले छिमेकीको घर छाउन नसकेर ढलेको देखेको छ । आफ्नो पनि घर भत्किएला कि भन्ने चिन्ताले उहाँलाई घरिघरि पोलिरहन्छ ।
अहिले गाउँघरमा अन्नबाली घर भित्र्यासकिएको छ । फुर्सदिलो यस समयमा गाउँघरमा घर बनाउन तथा छानो छाउन खर जुटाउने र छाउने समय हो । गत वर्ष नै स्थानीय तहहरूबाट खरको छानामुक्त बनाइदिने भनी प्राविधिक आएर घरको चार कुना नापजाँच गरेका थिए । सुनमायाको घरको छानो गत वर्ष नै छाउनुपर्ने थियो । उहाँले घर छाउनका लागि खर काट्न तयारी गर्दागर्दै स्थानीय तहबाट प्राविधिक आएर चार कुन नापजाँच गरे । खरले छाएका घरमा जस्ताको पाता दिइने भएपछि उहाँको खुशीको सीमा नै रहेन । त्यो खुशी धेरै समय रहेन । गत वर्ष नै नापजाँच गरिए पनि अहिलेसम्म जस्ताको पाता नपाउँदा उहाँमा निराशा छाएको छ । उनल भने, “गाउँपालिकादेखि आएका प्राविधिकले अर्को चरणमा आउँछ भनेपछि आशा गरेर बसेका छौँ । दिने नदिने थाहा छैन । नदिने भए खर जुटाएर भए पनि छाना छाउनैप¥यो । चुहिने घरमा त बस्न सकिन्न ।”
सिदिङ्वा गाउँपालिका ४ साब्लाखु निवासी खोमनाथ खड्काका मुहारमा पनि आजभोलि खुशीका रेखा देखिन छाडेको छ । जाडो मौसम सुरु भएको छ । घरको छाना मक्किएर झरिसक्यो । छानो उदाङ्गो हुँदै छ । अझ हावाहुरीको समय आउँदै छ । त्यसैको पिरले खड्कामा खुशी हराउँदै गएको छ । गत वर्ष नै जस्ताको पाता दिने भनेर घर नापजाँच गरिए पनि दुई वर्ष बित्न लाग्दा अहिलेसम्म जस्ताको पाता नपाउँदा आफूलाई दुःख लागेको उनले बताए ।
पूर्णबहादुर, सुनमाया र खोमनाथ मात्र नभई जिल्लाका एक हजार ८ सय ७४ घरपरिवारको व्यथा उस्तै छ । अर्थाभावका कारण खरको छानामुनि बस्न बाध्य भएका एक हजार ८ सय ७४ परिवारको घरका छाना छाउन सहरी विकास तथा भवन निर्माण विभागको नयाँ जस्तापाताको छाना लगाउने कार्यक्रममार्फत गत वर्ष नै नापचाँच गरिएको छ । त्यसैको आसमा बसेका परिवार अहिले दोधारमा छन् । जस्तापाता पाइएला भनी बसेका उनीहरूमा निक्कै छट्पटीसमेत सिर्जना भएको छ । खर काटेर घरको छानो छाउन थालौं भने घर नापजाँच गरिएकाले जस्तापाता पाइहालिन्छ कि भन्ने आशा पनि तिनलाई छ ।
दुई हजार घर खरको छानोमुक्त
गत वर्ष पुस्तौँदेखि खरको छाना लगाउँदै आएका एक हजार ८ सय १८ घरको छाना फेरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा स्थानीय तहले स्थानीय तहले ताप्लेजुङलाई खरको छानामुक्त जिल्ला बनाउने अभियान सुरु गरेका हुन् । विभाग र स्थानीय तहहरूको सहजीकरणमा पुस्ताँैदेखि खरको छानामुनि बसेका अतिविपन्न परिवारलाई खरको छाना फेरिदिएपछि गरिबका लागि लागि पनि सरकार रहेछ भन्ने अनुभूति भएको फक्ताङ्लुङ गाउँपालिका ६ का सन्तकुमार फेम्बुले बताए ।

यस्तै गत आर्थिक वर्ष फक्ताङ्लुङ गाउँपालिकामा बसोबास गर्ने २४५ विपन्न परिवारको खरको छाना हटाएर जस्ताको छाना लगाइएको फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रकाश रिजालले जानकारी दिए । खरको छाना प्रतिस्थापन कार्यक्रमका लागि सहरी विभागबाट गत आव विनियोजित रु एक करोड २२ लाख ५० हजार बजेट खर्च भएको फक्ताङलुुङ गाउँपालिकाले जनाएको छ । खरको छाना प्रतिस्थापन कार्यक्रमका लागि जस्तापाता खरिद गर्न प्रतिघरपरिवार रु ५० हजारका उपलब्ध गराइएको थियो । त्यस्तै आठराई त्रिवेणीमा रु एक करोड ६० लाख ५० हजार बजेटले २ सय १३ घरपरिवारको खरको छाना प्रतिस्थापन गरिएको छ । खरको छानामुक्त गाउँपालिका बनाउनेकार्यक्रमअन्तर्गत गाउँपालिकाले पनि गत आव रु ७० लाख बजेट थपेको थियो ।
मैवाखोला गाउँपालिकामा पनि रु ८७ लाख बजेटमा १ सय ७४ घरपरिवारले आफ्ना घरमा जस्तापाता छाएका थिए । फुङ्लिङ नगरपालिकामा रु ९५ लाख विनियोजित रकमबाट विपन्न १ सय ७४ परिवारले छानामा जस्तापाता फेरेका छन् । सिरिजङ्घा गाउँपालिकामा रु ८३ लाख ५० हजारबाट १ सय ६७ घरपरिवारले तथा सिदिङ्वा गाउँपालिकामा रु एक करोड ४५ हजार बजेटबाट २ सय ९० घरपरिवारले जस्ताको पाता लगाएका छन् । पाथीभरा याङ्वरक गाउँपालिकामा रु एक करोड बजेटमा पुस्तौदेखि खरको छानामुनि बस्दै आएका २ सय घरपरिवारले जस्ताको छाना लगाएका छन् । मेरिङ्देन गाउँपालिकामा भने रु ९४ लाख बजेटबाट १ सय ८८ घरपरिवारको घरको छाना फेरिएको छ । ती स्थानीय तहमा अझै पनि धेरै खरको छानामुनि बस्दै आएका विपन्न परिवार छन् । सम्बन्धित स्थानीय तहले खरको छाना भएका बासिन्दालाई जस्तापाता छाइदिने विषयमा कार्यपालिकाको बैठकबाट निर्णय हुँदै आएको जनाएका छन् ।
जस्तापाता लगाउन नसकी खरको छानामुनि बस्दै आएका निम्नवर्गका स्थानीय परिवारलाई लक्ष्य गरी जस्तापाताको छाना फेर्ने अभियान सुरु गर्न थालिएको स्थानीय तहले जनाएका छन् । खरको छाना हुँदा आगलागी हुने जोखिम पनि धेरै भएकाले स्थानीयवासीलाई सुरक्षित बसोबासमा सहयोग गर्नसमेत अभियानको थालनी गर्न सुरु गरिएको स्थानीय तह बताउँछन् ।
सहरी विभागका अनुसार चालु आवमा पनि खरको छानामुक्त कार्यक्रम राखिएको छ । गत वर्ष नापजाँच गरेर पनि जस्ताको पाता नपाउने एक हजार ८ सय ७४ विपन्न घरपरिवारले आगामी असार अगाडि अर्थात् यसै आवभित्र जस्ताको पाता पाउने विभागका सूचना अधिकारी गणेश कर्माचार्यले बताए । जिल्लालाई घरको छानामुक्त बनाउनका लागि विभागले रु चार करोड ३१ लाख बजेट विनियोजन गरेको जनाइएको छ ।
विभागका अनुसार फक्ताङलुङ गाउँपालिकामा २ सय ४५ विपन्न परिवारको खरको छाना विस्थापन गर्न रु ५६ लाख, मिक्वाखोलामा १ सय ४७ घरपरिवारका लागि रु ३४ लाख र मेरिङ्देनमा १ सय ८८ घरका लागि रु ४३ लाख बजेट विनियोजन भएको छ ।

विभागका अनुसार मैवाखोलाका १ सय ७४ घरपरिवारका लागि रु ४७ लाख, आठराई त्रिवेणीका २ सय १३ घरका लागि रु ४९ लाख, फुङ्लिङ नगरपालिकाका १ सय ९० घरपरिवारका लागि रु ४४ लाख विनियोजन भएको छ । त्यस्तै पाथीभरा याङ्वरकका २ सय घरपरिवारलाई रु ५३ लाख, सिरिजङ्घाका २ सय ९० घरपरिवारका लागि रु ६७ लाख, सिदिङ्वाका १ सय ६७ घरपरिवारका लागि रु ३८ लाख विनियोजन भएको छ ।
विभागमार्फत दुई वर्षका अवधिमा जिल्लाका तीन हजार ६ सय ९२ विपन्न परिवारको पुस्तौँदेखिको खरको छाना विस्थापन गरी जस्तापाता छाउने कार्य हुने छ ।
आठराई त्रिवेणी गाउँपालिकाले आफ्नो पालिकाभित्र बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएका परिवारका लागि आवास निर्माण गरिदिनका लागि गाउँपालिकाले रु एक करोड २० लाख बजेट विनियोजन गरेको आठराई त्रिवेणीका अध्यक्ष विश्वनाथ सिटौलाले बताए । जग्गाविहीन र आर्थिक अवस्था कमजोर तथा विपन्न परिवारलाई जग्गा खरिद गर्न र घर बनाइदिनका लागि मैवाखोलाले पनि रु एक करोड ३० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्बाङले बताए । यसरी विभाग र स्थानीय तहका पहलमा दुई वर्षभित्र ताप्लेजुङलाई खरको छानामुक्त जिल्ला बनाउने अभियान अघि बढेकामा जनता उत्साहित छन् । रासस

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ९ : ५७ बजे