१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बृद्ध बृद्धालाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण




१९ पुस ०७८,पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा महानगरपालिका ३२ स्थित राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण गराएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वृद्धाश्रमका ४५ जना ज्येष्ठ नागरिकलाई ज्याकेट तथा आवश्यकताअनुसार टोपीका साथै राधाकृष्ण गुरुकुलका २३ जना बटुकलाई टोपी वितरण गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् । उक्त अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई स्याङ्जाको चापाकोट नगरपालिका ६ स्थित केलादीघाट घामको धार्मिक भ्रमण गराइएको थियो । केलादीघाट भ्रमणका क्रममा त्यहाँस्थित वृद्धाश्रममा बस्दै आएनुभएका ज्येष्ठ नागरिकका लागि १५ ज्याकेट र ४० वटा टोपी पनि वितरण गरिएको उनले बताएका छन् ।
असहाय ज्येष्ठ नागरिकलाई केलादीघाटको भ्रमण गराइएको उल्लेख गर्दै उहाँले यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा प्रवद्र्धन गर्नु आवश्यक भएको बताएकाछन् । भ्रमणका क्रममा केलादीघाटमा आयोजित कार्यक्रममा चापकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले केलादीघाटको ऐतिहासिक एवं सांस्कृतिक महत्व रहेको जनाउँदै यसको प्रवद्र्धन अपरिहार्य भएकामा जोड दिए ।
राधा दामोदर मन्दिर सञ्चालक समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीले पौराणिकरुपमा समेत यस मन्दिरकोे विशेष महत्व रहेको बताउँदै यसको प्रचारप्रसार हुन नसकेको बताएका थिए । समितिका सचिव घनश्याम खनालले २००८ मा राधा दामोदरको मन्दिर निर्माण भई मानवता र अहिंसाको सन्देशसहित आध्यामिक जागरण ल्याउन यस मन्दिरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा चापाकोट नगरपालिका ६ का वडाध्यक्ष एकदेव भट्टराई, ७ का वडाध्यक्ष रविचन्द्र बस्ताकोटी, घिरिङ गाउँपालिका १ का वडाध्यक्ष गङ्गाराम कुमाल, मन्दिर सञ्चालक समितिका उपाध्यक्ष तीर्थराज अधिकारीलगायतले केलादीघाट क्षेत्रको धार्मिक महत्वलगायतमा प्रकाश पार्नुभयो । भ्रमणका क्रममा उक्त क्षेत्रको रामघाट क्षेत्रको अवलोकनसमेत गरिएको थियो । केलादीघाट र रामघाट क्षेत्र एक अर्कामा अन्तरसम्बन्धित रहेको बताउँदै रामघाट धामका महन्त प्रकाश गिरीले यी क्षेत्र प्रचारप्रसारको पर्खाइमा रहेको बताए ।

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।