१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बढ्न थाल्यो कोरोनाको रेसियो, थप ५४० मा कोरोना सङ्क्रमण पुष्टि



२२ पुस ०७८, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ९९ जनाको नमूना परीक्षण गरिएको थियो । सात हजार २०९ जनाले पीसीआर र चार हजार ८९० जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २७१ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ४४७ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ४४५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख एक हजार ७४२ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ४४ हजार ३९४ पुगेको छ । कूलमा सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत छ ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख २० हजार ६५३ रहेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८१ दशमलव नौ रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १४ र आइसियूमा ७९ जना रहेका छन् । होम आइसोलेशनमा पाँच हजार ६९, संस्थागत आइसोलेशनमा ३६२ र क्वारेन्टिनमा ११३ रहेका छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् ।

शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ३०२, ललितपुर ६२१ र भक्तपुरमा ५५३ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।