११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजदेखि ७७ वटै जिल्लामा कोरोनाविरुद्ध बुस्टर खोप




२ माघ ०७८, काठमाडौं । सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउँदैछ । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई सरकारले बुस्टर डोज आजदेखि लगाउन लागेको हो । खोप लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् ।
यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ्ग सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने छ । आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप लगाउने तयारी छ ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्ने मन्त्रालयले जनाएको छ ।

पूर्ण खोप लगाएको छ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो । खोपको पूरा मात्रा लगाइसकेर पनि अतिरिक्त खोप लगाउदा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने बताइन्छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : ४३ बजे