१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महाकालीमा डुबेर एक युवकको मृत्यु




बिरादत्त भट्ट
१४ माघ ०७८, दार्चुला । दार्चुला सदरमुकाम खलंगामा विगत केही दिनदेखि खानेपानी पटक–पटक अवरुद्ध भइरहेको छ । खानेपानीको अभावका कारण शुक्रबार दिउँसो महाकाली नदी किनारमा नुहाउन गएका एकयुवाको बगेर ज्यान गएको छ ।
दार्चुलाको ब्यास गाउँपालिका ४ सुन्सेरा घर भई हाल सदरमुकाम खलंगामा बस्दै आएका २१ वर्षीय सुवास कुँवरको महाकाली नदीमा नुहाउने क्रममा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।
मृतक कुँवर बजारमा डेरा गरी कम्प्युटर सिकिरहेका थिए । नदीमा बगेको जानकारी पाएपछि स्थानीय युवा, प्रहरी र सशस्त्र प्रहरी घटना स्थल पुगेको थियो । नदीबाट बगिरहेको अवस्थामा जीवितै उद्धारगरी कुवरलाई दिउँसो २ बजे जिल्ला अस्पताल दार्चुला पु¥याइएको भए पनि अस्पतालमा डाक्टरले दिउसो मृत घोषित गरेका थिए ।
विगत दुई तीन दिनदेखि खानेपानी नआउँदा सदरमुकाम खलंगामा बसोबास गरिरहेकाहरू सरसफाइका लागि महाकाली नदी तथा खानेपानीका लागि परम्परागत धारामा जाने गरेका छन् ।

खानेपानी कार्यालयले अवरुद्ध भएको पानी सुचारु नगर्दा कुँवरको ज्यान गएको भन्दै आफन्त आक्रोशित बनेका छन् । ‘डेरा गरी बसिरहेको विद्यार्थी खानेपानीका लागि नदी जानुपर्ने स्थिति छ । खलंगा खानेपानी तथा सरसफाइ आयोजनाले मृतकको जिम्मा लिनुपर्छ,’ नेकपा एमाले दार्चुलाका उपसचिवसमेत रहेका मृतकका आफन्त चन्द्रा कुँवरले भने ।
महाकाली नगरपालिका–४ माल्बेला क्षेत्रमा सडक निर्माणको क्रममा खानेपानी पाइप फुट्दा बजारको खानेपानी अवरुद्ध भइरहेको खलंगा खानेपानी तथा ढल उपभोक्ता समितिका अध्यक्ष जयदेव जोशीले बताए ।
‘सडक निर्माणका क्रममा खानेपानी अवरुद्ध भएको हो, निर्माण गरिरहेको ठेकेदारलाई खानेपानी सुचारु गर्न भनेको छु । कार्यालयबाट पनि पोलम्बर पठाएको छु । भोलि बिहान सम्म पानी आउँछ,’ जोशीले भने ।
मृतक कुँवरको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । घटनाको खानेपानी कार्यालयले जिम्मा नलिएसम्म शव नबुझ्ने मृतकका आफन्तको अडान छ । न्युज कारखाना

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : २० बजे