४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


दुई युक्रेनी क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता



एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताएका छन् । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सकलाई रुसका राष्ट्रपति पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् ।

घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् । आदेशमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

सम्बोधनका क्रममा पुटिनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई ’विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासनको संज्ञा दिएका छन् ।  सम्बोधनका क्रममा उनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन् ।

रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनबाट छुट्टिन चाहेका क्षेत्रका मानिस लक्षित प्रतिबन्ध लगाउने आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकाले पुटिन आफैँले खडा गरेको द्वन्द्वलाई तीव्रता दिएको आरोप लगाएको छ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरस र युरोपेली संघले रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन बताएका छन् ।

रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ । रुसको पछिल्लो निर्णयले पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने पश्चिमी मुलुकको भनाइ छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ४५ बजे