११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धुलाम्य तुलसीपुर, ठेकेदारकाे लापरबाहीले निर्माण अलपत्र



२४ फागुन ०७८, दाङ  । अमिलिया सडकखण्डअन्तर्गतको तुलसीपुर बजारको बाहिनी चोकदेखि मदन-आश्रित चोकसम्मको सडक मर्मत अलपत्र अवस्थामा छ । पुस महिनादेखि मर्मत सुरु गरिएको उक्त सडक तीन महिना बित्न लाग्दासम्म पनि अलपत्र अवस्थामै छ ।

तुलसीपुर बजारको मुख्य सडकलाई मर्मत गर्ने भन्दै निर्माण कम्पनीले सडकको कालोपत्रे उप्काएर फालेको छ । तर कालोपत्रे उप्काएर फाले पनि मर्मत कार्यलाई भने अलपत्र अवस्थामा छाडेको छ ।

उक्त सडकमा हिँड्ने पैदलयात्री, स्थानीय नगरवासी धुलोका कारण आजित भएका छन् । धुलो उडेर स्थानीय व्यापारी, पैदलयात्री, सवारीसाधनलाई समेत निकै सास्ती व्यहोर्नुपरेको छ । तुलसीपुरका व्यापारीले आफ्नै लगानीमा दैनिकजसो उक्त सडकमा पानी हाल्ने गरेका छन् । तर हिजाेआज गर्मीयाम सुरु भएकाले पानी हालेको केही घन्टा नबित्दै पुनः धुलो उड्ने गरेको व्यवसायी पूर्ण वलीले बताए । यता सडक डिभिजन कार्यालय दाङले भने ठेकेदारको लापरबाही भनेर आफ्नो बचाउ गरेको छ ।

तुलसीपुर-अमेलिया सडकखण्डअन्तर्गतको सडक मर्मतको जिम्मेवारी पाएका सवइन्जिनियर धर्मराज गिरीका अनुसार ग्रेडर बिग्रिएर काममा ढिलाइ भएको हो । सडक निर्माण ठेक्का पुष्पाञ्जली पिएस प्रा.लि.ले लिएको छ भने उसले ईश्वरी कँडेल भन्ने ठेकेदारलाई उक्त सडक निर्माणकाे जिम्मा दिएको गिरीले बताए । सडक मर्मतको जिम्मा पाएका ठेकेदारको टिपरले पैदलयात्रीलाई ठक्कर दिएपछि ठेकेदार फरार रहेको उनको भनाइ छ ।

गिरीका अनुसार तीन करोड ३५ लाख ९४ हजार पाँच सय ५४ रुपैंया (भ्याटसहित) मा ठेक्का सम्झौता भएको छ । उक्त सडक यही चैत मसान्तसम्म सक्नुपर्ने गरी सम्झौता छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।