८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सातदोबाटो-चापागाउँ सडक अवरुद्ध, पिच गर्न माग गर्दै मदनकृष्ण श्रेष्ठ पनि प्रदर्शनमा (तस्बिरहरू)



चैत्र ०७८, ललितपुर   । ललितपुरको सातदोबाटो–चापागाउँ सडक स्थानीयले मंगलबारदेखि सडक बन्द गरेका छन् । सडकमा धुलो उडेको भन्दै करिब ३० भन्दा बढी स्थानीय भेला भई सुनाकोठी बालकुमारी मन्दिर सडकमा बसेका कारण मुख्य सडक बन्द गरेका हुन् ।

सडक बन्द हुँदा सवारी आवागमन अवरुद्ध भएको थियो। सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको थियो । मंगलबार बिहानैदेखि सुनाकोठी(चापागाउँ जाने सडक स्थानीयले अवरूद्ध गरेको ललितपुर महानगरपालिका(२७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिए।

सडक कालोपत्र गर्न माग गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि प्रदर्शनमा उत्रिएका छन्। ‘कालोपत्र नगरेसम्म बाटो बन्द, वैकल्पिक बाटो प्रयोग गर्नुहोला’ भन्ने लेखिएको प्लेकार्ड बोकेर श्रेष्ठ सडकमा उभिएका छन्।

प्रदर्शनको तस्बिर फेसबुकमा राख्दै श्रेष्ठले लेखेका छन्, ‘दिनमा हजारौं गाडी गुड्ने सुनाकोठीको बाटो दसौं वर्षदेखि यत्तिकै छ।घाममा धुलो बाक्लिँदो, बर्षामा हिलो बाक्लिँदो, सुनाकोठीका जनताहरूको स्वास्थ्यमा रोग बाक्लिँदो, पातलो न पातलो पिच गरेर कत्ति न राम्रो सडक बनाएजस्तो गरी दिनु हुने ठेकेदार महासयहरूको खल्ती बाक्लो। सबथोक बाक्लो सिर्फ पिच मात्र पातलो।पैसा त देश बनाएर पनि कमाउन सकिन्छ। देश बिगारेर पैसा कमाउने बुद्धि कहिलेसम्म बाक्लिने हो खै।’

झन्डै डेढदेखि दुई किलोमीटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले नबनाएको भन्दै सुनाकोठीका स्थानीय आक्रोशित भएका हुन्।

तस्बिर : मदनकृष्ण श्रेष्ठको फेसबुकबाट

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ३३ बजे