काठमाडौं । चैत ९ गते
यातायात व्यवसायीले इन्धनमा चरम मुल्यवृद्धि भएको भन्दै आफैँ गाडी भाडा वृद्धि गरेका छन् । १५ चैतदेखि लागु हुने गरी पृथ्वी राजमार्ग बस सन्चालक प्रालिले आफू मातहतका गाडी भाडा बढाएको हो । साप्ताहिक रुपमा बढेको इन्धनको मूल्यअनुसार सार्वजनिक यातायातको भाडा बढाउन सरकार उदासिन बनेको भन्दै व्यवसायी आफैँले भाडा बढाएका हुन् ।यातायात व्यवस्था कार्यालय गण्डकी र जिल्ला प्रहरी कार्यालय कास्कीलाई बोधार्थ दिएर कम्पनीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र दिएको छ ।
२०६५ सालमा वैज्ञानिक भाडादर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदनअनुसार दुई भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधार बनाइएको छ । २०६९ देखि समायोजन नभएको भाडा गत असार अन्तिममा समायोजन भएको थियो । भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति भएपनि व्यवसायीले कानुनविपरीत आफैँ भाडा बढाएका हुन् ।सरकारले यातायात व्यवसायी समितिलाई कम्पनी ऐनअनुसार रुपान्तरण गरे पनि कार्यविधि र ऐन कानुनको निर्माण नहुँदा कठिनाइ झेल्नुपरेको अध्यक्ष योगेन्द्र केसीले बताए ।‘१०७ रुपैयाँ डिजेलको मूल्य हुँदा समायोजन भएको भाडा डिजेल १३८ पुग्दा पनि उही छ ।
इन्धनमा ५ रुपैयाँ बढ्दा भाडा समायोजन गर्ने सहमति भएकोमा समय सापेक्ष र वैज्ञानिक भाडादरको सिद्धान्त लागू भएन नभएको उनले बताए । अहिलेको अवस्थामा सरकार निर्वाचन केन्द्रित मात्र भएकोले भाडा समायोजनसम्बन्धी हाम्रो माग प्रति उदासिन रहेको छ । यही बसभाडामा सेवा सन्चालन गर्न यातायात व्यवसायीहरु असमर्थ रहेकोले भाडा बढाएका हौं ।’उनले बन्द हड्तालको सट्टा आफैँ भाडा बढाएर सेवा दिने निर्णयअनुसार भाडा वृद्धि गरेको बताए ।
प्रतिक्रिया