१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


प्रतियोगिताको पहिलो चरणमा ११ एकल नाटक छानिए



१० चैत्र ०७८, काठमाडौं । सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७–०७८’ को पहिलो चरणमा ११ वटा नाटक छनोट भएका छन् । ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्थानले जनाएको छ ।प्रतियोगितामामा छनोट भएका नाटकमा प्रशान्त श्रेष्ठको ‘लकडान एक अवसर’, अनन्तराज सिग्देलको ‘दुई गाउँका हर्ष र प्रकाश’, निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’, मनिता रूपाखेतीको ‘रिठ्ठु’ रहेका छन् । त्यसैगरी लक्ष्मी पाण्डेको ‘१५ दिन’, रमिक ठकुरीको ‘गोठको चिया’, गणेश उपाध्यायको ‘सम्भाव्य’, वसन्त केसीको ‘साङ्लो’ र मञ्जु गिरीको ‘नाटकभित्रको नाटक’ रहेको छ ।

संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले नेपाली वा आफ्नो मातृभाषा प्रयोग गर्न सकिने यस प्रतियोगितामा देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कनेजस्ता विषय मान्य नहुने प्रावधान राखिएको बताए ।‘पहिलो चरणमा छनोट भएका ११ वटा नाटकलाई सांस्कृतिक संस्थानको युट्युब च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको छ’, महाप्रबन्धक राईले भने, ‘चैत २५ गतेसम्ममा सर्वाधिक लाइक र सेयर भएका नाटकलाई बढीमा थप १५ अंकसम्म र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अंक मिलाई उत्कृष्ट पाँच नाटक छनोट गरिनेछ ।

उत्कृष्ट पाँच नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत विजेता छनोट गरिनेछ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कारस्वरूप १५, १५ प्रदान गरिने भएको छ । ‘देशका कुना कन्दरामा लुकेर रहेको प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्न यो प्रतियोगिता आयोजना गरिएको हो’, महाप्रबन्धक राईले भने ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।