१६ चैत्र ०७८, काठमाडौं । उच्च अदालत पोखराले नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) लाई कारागार पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गरेको छ ।
बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।
मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नियमित पेसी सूचीमार्फत न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको थियो ।
उच्च अदालत पोखराले थुनछेक बहस प्रयोजनका लागि अभियुक्तलाई थुनामै पठाउनुपर्ने कारण, त्यसका आधार र सम्बन्धित कागजातहरूको प्रमाणित प्रतिलिपि सहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।
तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको कागजात प्राप्त भएपछि सुनुवाइका लागि पेसी तोकिने उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले जानकारी दिए ।
प्रतिक्रिया