९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


त्रिदेशीय टी–२० क्रिकेट सिरिज : नेपाल फाइनलमा प्रवेश



१७ चैत ०७८, काठमाडौं ।  त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाइ ३७ रनले हरायो ।

लगातार तेस्रो जित निकालेको नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

जितमा लागि २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा सबै विकेटको क्षतिमा १६६ रनमा समेटिएको थियो । पीएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रन बनाउनुभयो । टोनी उराले ४३, सेसे बाउले २५, नोरमान भानुले १७ र रिले हेकुरेले ६ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले ह्याट्रिक सहित पाँच विकेट लिनुभयो । सोमपाल कामी र अविनास बोहराले दुई दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले जितका लागि बलियो गोगफल तयार पारेको थियो । ऐरीले सर्वाधिक ६६ रन बनाउने क्रममा ३३ बलमा तीन चौका र चार छक्का हाने । रोहित पौडेलले ४१ रन बनाए ।  रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाए ।

ओपनर आशिफ शेखले ३८ र आदिल अन्सारीले ३१ रन बनाए । अलराउन्डर आदिलले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गर्नुभएको हो । अर्का ओपनर कुशल भुर्तेल १७ रनमा आउट भए ।  बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिए ।

लगातार तीन खेल जितेपछि नेपाल ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । लगातार तीन खेल हारेको पीएनजीले खाता खोल्न सकेको छैन । मलेसिया दुई अंक सहित तालिकाको दोस्रो स्थानमा छ । तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । शुक्रबार पीएनजी र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ५ : ०५ बजे