१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शोधनान्तर घाटा भयावह बन्दै, विदेशी मुद्रा ११७१ अर्ब रुपैयाँ मात्रै



२९ चैत ०७८, काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा चालु खाता ४६२ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५१ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७८–७९ को तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

त्यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशत गिरावट आएर ७ अर्ब रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६०.० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

८ महिनाको अवधिमा शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोड रुपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।

त्यस्तै, ८ महिनाको अवधिमा १६.३ प्रतिशतले विदेशी मुद्रामा गिरावट आएको छ । गत असार मसान्तमा १३९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा १६.३ प्रतिशत घटेर फागुन मसान्त सम्ममा ११७१ अर्ब रुपैयाँ कायम रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १२४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तमा १८.२ प्रतिशत घटेर १०१८ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तसम्ममा ०.९ प्रतिशत घटेर १५२ अर्ब ९५ करोड रुपैयाँ कायम रहेको राष्ट्र बैंक बताउँछ । फागुन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।