६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तीनछाँगे झरनामा टिकटक बनाउनेले नगद पुरस्कार पाउने




२९ चेत्र ०७८, ओखलढुङ्गा । ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवद्र्धन गर्न उत्कृष्ट लेख रचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ ।
सुनकोसी गाउँपालिका ९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा जिल्लाको चर्चित एवम् रमणीय तीनछाँगे झरनामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीनछाँगेको विषयमा लेख, रचना, गीत, कविता तथा सामाजिक सञ्जालमार्फत फोटो, भिडियो र टिकटक बनाउने उत्कृष्ट तीन जनालाई नगदसहित पुरस्कृत गरिने भएको हो ।
तयार पारिएको सामग्री र त्यसको प्रभावका आधारमा पुरस्कार दिइने सुनकोसी गाउँपालिका–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताए । तीनछाँगेको इतिहास, वर्तमान अवस्था र मनोरम वातावरणमा रम्नुका फाइदाका विषयमा प्रचार सामग्रीसमेत तयार पार्न सकिने उनको भनाइ छ ।
नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते वडा कार्यालयको सहयोगमा तीनछाँगे झरना प्रवद्र्धन समितिले तीनछाँगेको प्रचारप्रसारका लागि बृहत् साङ्गीतिक कार्यक्रमसहितको तयारी गरेको प्रवद्र्धन समितिका अध्यक्ष नरबहादुर सुनुवारले बताए ।

कार्यक्रममा स्थानीयवासीको जातीय पहिचान झल्काउने झाँकी, ककनीको अग्र्यानिक स्वादसहित स्वादिष्ट परिकारहरु, राष्ट्रिय फूल लालीगुराँस र तीनछाँगे झरनासँग रमाउन सकिने आयोजकले जनाएको छ । स्थानीय तहमा निर्वाचित भएपछि जनप्रतिनिधिले यस क्षेत्रको पर्यटन प्रवद्र्धन अभियान चलाएका छन् । सुनकोसी ९ को समृद्धि र विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइएको छ ।
पुरानो किंवदन्ती बोकेको धार्मिक तथा प्राकृतिक रमणीय स्थल तीनछाँगे विगतमा ओझेलमा थियो । त्यहाँसम्म पुग्ने बाटोसमेत थिएन । अहिले जनप्रतिनिधिकै पहलमा तीनछाँगेसम्म पुग्ने सहज बाटो र झरना अवलोकनका लागि पदमार्ग, काठे पुललगायत पूर्वाधार निर्माण गरिएको छ ।
पूर्वाधार विकास र प्रचारप्रसार गरिएसँगै तीनछाँगेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ४४ बजे