१४ जेठ ०७९, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।
यसैबीच नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८÷७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ ।
यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको हो ।
यसैबीच चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार यस यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्न लागेको हो ।
गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो । यो तथ्यांक केन्द्रीय तथ्यांक विभागले यसअघि सार्वजनिक गरेको प्रक्षेपणमा आधारित रहेको छ ।
आर्थिक वर्ष ०७८/०७९ को कुल ग्रार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ । जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४।१ प्रतिशत रहने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
पूर्णपाठ हेर्नुहोस्
प्रतिक्रिया