२५ जेठ ०७९, काठमाडौं । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ ।
“असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिकाmल ७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।” धानको बीउ स्थानीय कृषि बीउबिजन केन्द्रमा नपाएपछि आपूmहरूको हैरानी बढेको पौडेलको भनाइ छ । यसपालि समय–समयमा पानी परे पनि धानको बीउ नपाउँदा खेती गर्ने समय घर्कँदै छ ।
ढिलोमा आगामी असार तेस्रो हप्ता भित्र धानको बीउ रोप सकिए साउन तेस्रो हप्तासम्म खरुवन रोप गर्न सकिन्छ । जिल्लामा धानको बीउ रोप गाँजिएपछि त्यसैलाई उखेलेर अर्को रोप गरिन्छ । यसलाई ‘खरुवन’ रोप भनिन्छ । बीउ रोपको भन्दा खरुवन रोपको धानको बाला पोटिलो लाग्ने र उत्पादन बढी हुने किसानको अनुभव छ ।
“खेतीको तालिका केही काम लागेन”, बर्दिबास–९ पशुपतिनगरका नथुनी महतो भन्छन्, “पुराना रैथाने धान मासिदा दुःख पाइयो ।” पुरानो रैथाने धान लाउन छाडेपछि विकासे जातका धानमा भर परिएको र त्यसको बीउ समयमै नपाउँदा खेती लगाउन नपाइएको किसानको दुखेसो छ । “तीन तहको सरकार छ, हाम्रो मर्का बुझ्ने कोही भएनन्”, महतोले भने।
जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा धानखेती गरिन्छ । सिँचाइको प्रबन्ध नहुनु, समयमा प्रामाणिक (कृषि मन्त्रालयले सिफारिस गरेका) धानको बीउ उपलब्ध नहुनु र रासायनिक मल नपाउँदा समयमा खेती लगाउन नपाइएको भङ्गाहा ४ का सत्यनारायण यादव बताउछन् ।
धान जिल्लाको मुख्य अन्नबाली मानिन्छ । मुख्यबाली नै समयमा लगाउन नपाएपछि किसानको पिरोलो बढेको छ । जिल्लाका १५ स्थानीय तहमा कुनैले पनि व्यवस्थित कृषि शाखा सञ्चालन गरेका छैनन् । भङ्गाहा ४ पलारका चौठी बाँतर खेतीका लागि आवश्यक सामग्रीको अभाव र कृषि जनशक्ति (खेतीहर मजदुर) भारततिर जान थालेपछि किसानले खेती छाड्दै गएको बताउछन् । यो क्रम बढ्दै गए उर्वर जग्गा बाँझो बस्ने र अन्नको सङ्कट बढ्दै उनको भनाइ छ । किसानलाई वैकल्पिक सिँचाइ प्रबन्धका लागि इनार, पम्पसेट, बोरिङजस्ता सुविधा दिनुपर्छ । सबै स्थानीय तहले कृषि शाखा व्यवस्थित गर्नुपर्ने किसानको माग छ ।
प्रतिक्रिया