३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


‘मैले बैंकले २० वर्षमा १० गुणा पैसा दिन्छु भनेर स्किम ल्याएको देखेको थिईनँ,




१९ भदौ ०७९, काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंक वित्तीय संस्थाले आजसम्म बैंकले २० वर्षमा १० गुणा पैसा दिन्छु भनेर स्किम ल्याएको नदेखेको बताएकी छिन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा उनले तरलताको अभाव टार्न ल्याएको अस्वभाविक स्किमले गर्दा सहकारी क्षेत्रको तरलता प्रभावित भएको बताइन् ।
‘मैले आजसम्म बैंकले २० वर्षमा १० गुणा पैसा दिन्छु भनेर स्किम ल्याएको देखेको थिईनँ,’उनले भने, ‘यही स्किमले सहकारी क्षेत्र पीडित भएको हो ।’
सहकारी सदस्यहरुको स्वनियमन र नियन्त्रणमा संचालन हुने संस्था भएकाले समस्या उत्पन्न हुनुमा संचालकहरुका साथै सदस्यहरुको पनि दोष रहेको भनाई राखे ।
‘सदस्यहरुले आफ्नो जिम्मेवारी महसुस गर्नु भएन,’उनले भने, ‘सदस्यले आफ्नो अधिकार खोज्ने मात्रनभई कर्तव्य पनि निर्वाह गर्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष मल्लले समुदायमा आधारित सहकारीमा समस्या नरहेको प्रष्ट पार्दै पारिवारिक रुपमा संचालित तथा मूल्य, मान्यता, सिद्धान्त र नियम कानुन पालना नगर्ने सहकारीमा समस्या देखिएको भनाई राखे ।
वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुखअ तिथि संघीय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुसंग साझेदारीमा कार्यक्रम गर्न विभाग तयार रहेको बताएका छन् । सहकारीलाई अप्ठ्यारो परेको समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्ने भएकाले आफू नियामकीय भूमिकामा उदार भएर प्रस्तुत भएको प्रष्टिकरण दिए ।
‘वास्तवमाम उदार भएकै हो । उहाँहरुलाई अप्ठ्यारो परेको बेला धेरै च्याप्न हुँदैन’, उनले भने, ‘अवस्था सामान्यभएपछि सबै सहकारीको नियमनमा कडाई गर्छौं ।’
रजिष्ट्रार पण्डितले अहिले विभागले केन्द्रीय संघहरुको शुद्धीकरणलाई प्राथमिकतामा राखेर कडाईका साथ नियमन गरिरहेको बताए ।
सहकारी विभागले ६ वटा निष्क्रिय केन्द्रीय संघहरुलाई विवरण बुझाउन सूचना जारी गरेपनि हालसम्म दुई वटा संघले मात्र विभागमा प्रतिवेदन बुझाएको जानकारी दिए ।
‘दुईवटा केन्द्रीय संघको प्रतिवेदन अध्ययनको क्रममा छ’, उनले भने, ‘बाँकी चार वटा कठिन अवस्थामा छन् ।’
रजिष्ट्रार पण्डितले सहकारी ऐन, २०७४ को दफा ८ र ७३ बमोजिमको विवरण नबुझाउने संघहरु विरुद्ध विभाग एक्सनमा जाने चेतावनी दिए ।
सहकारीमा देखिएको समस्याबारे धेरै हल्ला फैलिएकाले पनि संस्थामा बचतकर्ताहरुको लाईन लागेको बताए । हल्लाको भरमा आवधिक बचतको पैसा फिर्ता माग्न जाने प्रवृत्तिले गर्दा पनि समस्या उत्पन्न भएको बताए ।
उनले भने, ‘साना सहकारीमा नियमित बचत नभई प्रिमेचुअर आवधिक वचत फिर्ता माग्न गएकाले समस्या देखिएको हो ।’
साना सहकारीलाई व्यवस्थापन गरेर बलियो संस्था निर्माण गर्नका लागि सहकारीहरुबीच एकीकरण गर्न आवश्यक भएपनि एकीकरण प्रकृया कानुन सम्मत हुनुपर्ने कुरामा जोड दिए ।
हाल केही सहकारीले एकीकरण गर्दा नियामक निकायलाई समयमै जानकारी नदिनुका साथै संचालक समिति पुनर्गठन गर्दा समावेशीताको सिद्धान्तलाई पनि पालना नगरेको पाएकाले विभागले भोलि सम्ममा निर्देशन जारी गर्ने जानकारी दिए ।
सहकारी विभागले सदस्यको बचतको सुरक्षाका लागि आफ्नो नियमन क्षेत्रभित्र रहेका ठूलो कारोबार गर्ने सहकारी संस्थाका संचालक र व्यवस्थापकहरुको नागरिकता सहितको तीनपुस्ते विवरण माग गरेको जानकारी गराए ।
सहकारी विभागले आम समुदायमा सहकारीप्रति विश्वासको वातावरण बनाउनका लागि वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको बताए ।
साथै उनले सहकारीले आगामी पुसमा वार्षिक साधारण सभा सम्पन्न गरेर नियामक निकायमा विवरण बुझाएपछि सहकारी विभागले माघ महिनामा सहकारीको अद्यावधिक तथ्याङ्क प्रकाशन गर्ने जानकारी दिए ।
शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले मुलुकको वित्तीय बजारमा बैंक वित्तीय संस्थाहरुले सुरु गरेको अस्वस्थ प्रतिस्पर्धाका कारण तरलताको अभाव सिर्जना भएको बताए ।
‘अघिल्लो दिन ७ प्रतिशत व्याजदर भएका वाणिज्य बैंकले भोलिपल्ट ११ प्रतिशत पु¥याए । बैंकहरु कस्ले जग्गा बेचेको छ, को संग पैसा छ भन्ने खोज्दै संस्था संस्थामा पुगे,’ उनले भने, ‘यस्तो अस्वस्थ प्रतिस्पर्धाले सहकारीमा पनि समस्या उत्पन्न गरेको हो ।’
कानुनअनुसार १० देखि २० प्रतिशत सम्म तरलता राखेका सहकारीमा पनि अत्याधिक बचत फिर्ताको माग आउँदा समस्या उत्पन्न हुनसक्ने उल्लेख गर्दै उनले बचत फिर्ता गर्न नसक्ने सहकारीका संचालकलाई जेलमा थुनेर समस्या समाधान नहुने जिकीर गरे ।
सहकारी बैंकले नियमित कारोबार गर्ने सदस्य संस्थाहरुको तरलता पाँच प्रतिशतभन्दा कम भएको अवस्थामा कर्जा दिनका लागि ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको जानकारी गराए ।
उनले सबै सहकारी अनिवार्य सुशासनमा बस्नुपर्ने आवश्यकता औंल्याउँदै राज्य, अभियान, बचतकर्ता सदस्य र संचालकहरुले मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा बजारमा चर्चा गरेजति समस्या नरहेको बताए । सहकारी अभियानमा सुधारको आवश्यकता औंल्याउँदै उनले मिडियाले धमिलिएको सहकारी अभियानलाई सङ्ल्याउने काम गर्नुपर्ने भनाई राखे ।
संस्थाका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वहरु अध्यक्ष यादव हुमागाई, डिल्ली सापकोटा र खिलानाथ दाहालले पनि शुभकामना मन्तव्य राखेका थिए ।
सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आज एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना दिवस मनाएको हो ।

सम्मानतथा पुरस्कार वितरण
सिजेएनले १२ औं स्थापनादिवसको अवसर पारेर सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार र संस्थापक सम्मान समेत प्रदान गरेको छ ।
समाजले यसवर्ष कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार सुदिप पोखरेललाई सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उनलाई प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले नगद २० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरे ।
यसैगरी सिजेएनले निवर्तमान अध्यक्ष खिलानाथ दाहाललाई यस वर्ष संस्थापक सम्मान प्रदान गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ४३ बजे