
४ पुस ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल नगरपालिका संघको राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले जनताप्रतिको आफ्नो दयित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले अधिकांश नगरमा अव्यवस्थित शहरीकरणका कारण प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेको भन्दै चिन्ता प्रकट गरे ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताए ।
स्थानीय सरकारका कामका आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले वातावरणमैत्री शहरको अवधारणाअनुसार दीगो विकासको मोडेल अवलम्वन गर्न सुझाव दिए ।







प्रतिक्रिया