९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चलचित्र क्षेत्रका सङ्घसंस्थालाई लाग्यो चुनाव




काठमाडौं
२८ पुस । नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ ।
आगामी फागुन ११ गते साधारणसभासँगै चुनावी सभा तोकेको नेपाल चलचित्र प्राविधिक सङ्घमा नयाँ नेतृत्व कसले लिने भन्ने छलफलले तीव्रता पाएको छ । “प्राविधिकको समस्यालाई बुझ्ने नेतृत्व सङ्घमा आउँछ । हाम्रो संख्या बढेसँगै यसलाई व्यवस्थित र मर्यादित गर्न लागिपरेका छौँ”, प्राविधिक शङ्कर पाण्डे भन्छन्, “संस्थालाई बलियो बनाउन सम्पूर्ण प्राविधिक एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन ।”
यस्तै नेपाल चलचित्र निर्देशक समाज फागुनको अन्तिम साता साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ । “हामी छिट्टै मिति घोषणा गर्दैछौँ”, समाजका महासचिव जनकदीप पराजुलीले भने, “हामीले केही योजना बनाएका छौँ । सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुनेछ ।”

नेपाल चलचित्र कलाकार सङ्घले आगामी चैत ४ गते नयाँ कार्यसमिति चयन गर्दैछ । सङ्घका प्रवक्ता मोहन निरौलाले सदस्यता नवीकरणसँगै अन्य तयारी भइरहेको जानकारी दिएका छन् । “नयाँसँगै पुरानो कलाकारको समस्यालाई पहिचान गरी जोड्न सक्ने नेतृत्व आउन आवश्यक छ”, उनले भने ।
नेपाल पत्रकार महासङ्घको एसोेसिएट संस्था चलचित्र पत्रकार सङ्घ नेपालको फागुन १७ गते नवौँ महाधिवेशन हुँदैछ । अध्यक्ष दिनेश सिटौलाले अहिले शाखा अधिवेशन भइरहेको जानकारी दिए । “विधागत पत्रकारितालाई काठमाडौँसँगै मोफसलमा बढाउन हामी तत्पर छौँ । हामीले शाखामार्फत विधागत पत्रकारितालाई प्रोत्साहन गरिरहेका छौँ”, उनले भने । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको निर्वाचन केही समय अगाडि मात्र सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : ४५ बजे