१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सम्पादकीय


विशेष सम्पादकीय : गोदावरीको मिडियामाथि अंकुश अस्वीकार्य




एकाइसौं शताव्दीमा सञ्चारमाध्यमहरु विकाश र सुशासनका लागि सारथि हुन् । समाज परिवर्तनका लागि सञ्चारमाध्यमहरुले लेखेका आलोचनात्मक समाचारहरुले जनप्रतिनिधिहरुलाई सही बाटोमा हिड्न सहयोग गर्छ । जनताको पक्षमा कलम चलाउनु सञ्चारमाध्यमहरुको कतव्र्य हो ।
तर गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले ललितपुरको स्थानीय अनलाइन सञ्चारमाध्यमले नगरपालिकाको नकारात्मक विषयबस्तु लेखेको भन्दै आफैले स्वीकृत गरेको विज्ञापन रद्द गरेर पत्रकारको कमल बन्द गराउदै सञ्चार माध्यममाथि अंकुश लगाउने दुश्प्रयास गरेका छन् । यो सरासर प्रेस स्वतन्त्रताको विरुद्ध छ । स्थानीय सरकारले स्थानीय संचारमाध्यमहरुलाई सञ्चालन गर्न सहयोग र सद्भाव राख्नु पर्नेमा उल्टै सञ्चारमाध्यमहरुलाई अंकुश लगाउने, प्रलोभनमा पार्ने र समाचारका विषयबस्तुमाथि नियन्त्रण गर्ने कार्य घोर निन्दनिय छ ।
नगरपालिकामै दर्ता भई कर तिरेर सञ्चालनमा रहेको यस सञ्चारमाध्यमको सम्पादकीय विषयबस्तुमाथि प्रवेश गरेर हस्तक्षेप गर्न खोज्नु मेयरको पदीय दायित्व होइन । यो आचरण मेयरजस्तो सम्मानित पदसँग कुनै पनि हिसावले मेल खाँदैन ।
मेयर महर्जनको मिडियामाथि नियन्त्रण गर्ने यो नै पहिलो प्रयास भने होइन । केही समयअघि नगरपालिकापरिसरमा क्यामेरा चलाएको भन्दै क्यामेरा पर्सन र पत्रकारमाथि र्दुव्यावहार गरेको घटना सार्वजनिक भएको थियो । समाचारको विषयलाई लिएर बेला बेलामा बक्तव्यबाजी नै चल्ने गरेको घटना हामीले नजिकबाट निहालिरहेका छौं । सधै पत्रकारप्रति नकारात्मक सोच राख्ने मेयर महर्जनले आफ्नो आचरण सुधार गरी गोदावरी नगरपालिका नगरपालिकामा प्रेसमैत्री वातावरण श्रृजना गर्नु आवश्यक छ ।
सञ्चारमाध्यमहरु आफ्नो सम्पादकीय नीति अनुरुप चल्न स्वतन्त्र छन् । पत्रकार आचारसंहिता र विश्वव्यापी मान्यता पालन विपरित चलेको भए कानूनी उपचार खोज्ने बाटो सधै खुला छ । संविधानले नै सुरक्षित गरेको प्रेस स्वतन्त्रताविरुद्ध अंकुश लगाउने आफ्नो पक्षमा समाचार लेख्नेलाई प्रोत्साहन गरी नगरपालिकामा भएका विकृति र विसंगती मौलाउने वातावरण बनाउने कार्य कुनै तर्कले ढाकछोप हुन सक्दैन ।
नगरपालिकाले नगरभित्रका पत्रकार र सञ्चारमाध्यमहरुको हितमा कुनै पनि कार्यक्रम ल्याएको छैन । दक्षिण ललितपुरको छायाँ परेको यस नगरको विकाश प्रयासमा सञ्चारमाध्यमहरुले खेलेको भूमिकालाई सकारात्मक रुपमा लिनु पर्नेमा उल्दै हतोत्सायी बनाउने अपमान गर्ने कार्य एउटा सभ्य समाजका लागि लाजमर्दो कार्य हो ।
हामीले गोदावरी नगरपालिकामा भए गरेका सकारात्मक कामको रिपोर्टिङ गर्ने मौका पाएसम्म सधै सकारात्मक समाचार लेखेका छौं । नगरपालिकाले बनाएको परम्परागतशैलीको भवनदेखि सडक कालोपत्र हुँदाको समान्य विषयबस्तुलाई समेत समाचारमा समावेश गरेका छौं । नगरपालिकाले समाचार सम्प्रेष्णका लागि भनेर आजसम्म हाम्रो संचार माध्यमलाई बोलाउदैन । आफै प्रेसमैत्री वातावरण नबनाउने तर आफै सञ्चारमाध्यमलाई धम्क्याउदै अंकुश लगाउनु उपयुक्त होइन ।
गोदावरी नगरपालिकाले लगाएको अंकुश ललितपुर खबरमाथि अस्वीकार्य छ । हेक्का होस्, असल पत्रकारहरु भोकै पत्रकारिता गर्छन् । तर समाचारसँग पैसा साट्दैनन् । मेयर महर्जनले आफ्नो गल्ती स्वीकार गर्दै आउँदा दिनमा यस्तो गल्ती नगर्ने प्रतिबद्धतासहित माफी माग्नु पर्छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ३२ बजे