१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


भक्तपुरमा हृदयचन्द्र नाटक मेला सुरु




भक्तपुर

८ फागुन । भक्तपुरको लिवालिस्थित आस्था थिएटरमा आजदेखि हृदयचन्द्र नाटक मेला सुरु भएको छ । नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्तरूपमा आयोजना गरेको नाटक मेलाको बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले उद्घाटन गरेका छन् ।
यही फागुन १२ गतेसम्म पाँच दिन दैनिक दुई नाटकका दरले प्रदर्शन हुने नाटक मेलामा आज पहिलो दिन आयोजक समितिको ‘शरणगतको स्वागत’ र पारागण एकेडेमी स्कुलको ‘खैराँती मास्टर’ प्रर्दशन गरिएको नाट्यकर्मी समाजका निरज लवजुले जानकारी दिए ।
भक्तपुरका सात विद्यालयका विद्यार्थीको नाटक प्रस्तुत रहने मेलामा दोस्रो दिन ख्वप माविको ‘मरुभूमिका लेखक’ र पञ्चकन्या माविको ‘श्रीमैयाको इयर्लिङ’, तेस्रो दिन बाल विकास इङ्लिस सेकेन्डरी स्कुलको ‘खैराँती मास्टर’ र आयोजक समितिको ‘शरणागतको स्वागत’ को प्रस्तुत गरिने छ ।
खैराती मास्टर दुई समूहले प्रस्तुत गर्ने र शरणागतको स्वागत दुई दिन प्रस्तुत गर्ने उनले जानकारी दिए । चौथो दिन प्रभात इङ्लिस सेकेन्डरी स्कुलको ‘राजनीतिक रङ्गमञ्च’, ख्वप कलेजको ‘उनी देवता हुन’ र पाँचाँै तथा अन्तिम दिन जेन्युइन सेकेन्डरी स्कुलको ‘कीर्तिपुरको युद्धमा’ र आयोजक समितिको ‘गङ्गालालको चिता’ नाटक मञ्चन गरिने आयोजक समितिका सदस्य लवजुले बताए । नाटक प्रत्येक दिन मध्याह्न १२ बजे पहिलो सो र दिउँसो ३ बजे दोस्रो सो प्रदर्शन गरिने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ३ : १८ बजे