१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


पाँचखालको तरकारीमा १९ प्रतिशत विषादी



१४ चैत्र । पाँचखालको तरकारीमा १९ प्रतिशतसम्म विषादी पाइएको छ । कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्र प्रयोगशाला, खाद्य प्रविधि प्रयोगशालाले गरेको परिक्षणपछि तरकारीमा विषादीको मात्रा भेटिएको हो ।

परीक्षणको प्रतिवेदअनुसार पाँचखालमा उत्पादन भएका अधिकांश तरकारीमा प्रयोग भएको विषादीको मात्र दुईदेखि १९ प्रतिशतसम्म रहेको छ । बन्दामा दुई दशमलव पाँच र लोकल बोडीमा १८ प्रतिशत अर्गानोफस्फेट प्रयोग गरिएको छ । तुने बोडीमा २७ दशमलव पाँच प्रतिशत देखिएको हो ।

कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्र प्रयोगशाला, खाद्य प्रविधि प्रयोगशालाले विषादीको मात्र ३५ प्रतिशतसम्म भए खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर खान हुने र ४५ प्रतिशतभन्दा माथि भएमा खान अयोग्य हुने प्रमाणित गर्ने गरेको छ । सोमबार पाँचखालमा सार्वजनिक गरिएको प्रतिवेदनमा २०७४ भदौबाट परियोजनाको पाँच वर्षको अवधिमा कीटनाशक विषादी, ढुसीनाशक विषादी, रासायनिक मल, फस्फोरस र पोटासलगायतको प्रयोग उल्लेख्य रूपमा घटेको देखाएको हो ।

लव ग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीका अनुसार २०७९ वैशाख २ गते आलु, बकुल्ला, रायो साग, बन्दा, गाँजर, रातो बन्दा, गोलभेँडा, मुला, भेडे खुर्सानीको परीक्षण गरेको थियो भने २०७९ जेठ ११ गते धनियाँ, काउली, रातो बन्दा, मुला, रायो, ब्रोकाउलीमा प्रयोग भएको विषादी परीक्षण गरिएको थियो । परीक्षण गरिएको २० प्रकारका तरकारीमा बोडीमा अलिक धेरै विषादीको प्रयोग गरेको देखिए पनि ३५ प्रतिशतभन्दा कम भएकाले खानयोग्य भएको प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

पाँच वर्षका अवधिमा कृषकले औषत प्रतिरोपनी वार्षिक ८६ एमएल कीटनाशक विषादी प्रयोग गर्ने गरेकामा अहिले छ दशमलव पाँच एमएलमात्रै प्रयोग गर्ने गरेका छन् भने ढुसीनाशक विषादी औषत प्रतिरोपनी वार्षिक एक दशमलव ०८ केजी प्रयोग गर्ने गरेकामा शून्य दशमलव दुई सय २३ केजी प्रयोग गर्न थालेका छन् । जसका कारण तरकारी बालीमा प्रयोग हुने विषादीको प्रयोग घटेको हो । कीरा नियन्त्रण गर्नका लागि कृषकले मोहनी तथा पहेँलो पासोको प्रयोगलाई बढवा दिएका छन् । सर्वेक्षित क्षेत्रका ८४ दशमलव एक प्रतिशत घरपरिवारले यसको प्रयोग गर्ने गरेका छन्, जुन परियोजना सञ्चालन गर्नुभन्दा पहिले चार प्रतिशतले मात्र गर्ने गरेका थिए ।

विषादीको विकल्पमा परियोजनाले कृषकहरुले पशु मूत्रको प्रयोगमा उल्लेख्य वृद्धि गरी विगतमा एक रोपनी जग्गामा औसत एक दशमलव पाँच लिटर प्रयोग हुने गरेकामा अहिले ३३ दशमलव एक लिटर पशु मूत्र प्रयोग गर्ने गरेका छन् । परियोजना लागू भएका कुनै पनि घरधुरीले रातो लेबलको विषादी प्रयोग गर्दैनन्, तर अन्तिम अवस्थामा बाली जोगाउन प्रयोग गर्नुपर्ने अवस्था आएमा निलो र हरियो लेबलको विषादीलाई प्रयोग गरेका छन् ।

जैविक विषादीको प्रयोग सुरुमा दुई दशमलव पाँच प्रतिशत घरधुरीले प्रयोग गर्ने गरेकामा अहिले ७० दशमलव चार प्रतिशतले प्रयोग गर्ने गरेका छन् । औसत एक घरधुरीले वार्षिक तीन सय १५ लिटरभन्दा बढी वानस्पतिक विषादीको प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएका हुन् ।

त्यस्तै कृषकले पशु चौपाया (गाई–भैँसी)लाई सुविधायुक्त बसोबासका लागि भकारो सुधार र पशुपालन व्यवस्थापन गरेका छन् । पहिले २९ घरधुरीले भकारो सुधार गरेकामा हाल एक सय ९१ घरधुरीले भकारो सुधार गरी पशुहरूलाई रोग लाग्नबाट जोगाई मृत्युदरमा कम गरेका छन् । वार्षिक औसत तीन दशमलव नौ बाट झरेर एक दशमलव तीन पशु चौपायाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । पशुपालनमा वृद्धि भई पहिला प्रतिघरधुरी एक दशलमव सात पशु चौपायाबाट बढेर दुई र बाख्रामा चार दशमलव तीन प्रतिघरधुरीबाट बढेर ११ दशमलव सातवटा पाल्ने गरेका छन् ।

पाँचखाल नगरप्रमुख महेश खरेलले तरकारी परीक्षणबाट आएको रिपोर्टले यहाँ उत्पादन भएको तरकारी खानयोग्य भएको बताए । उनले सार्वजनिक गरिएको प्रतिवेदले वर्षौँदेखि ‘पाँचखालको तरकारी खान अयोग्य’ भनिने कथनलाई उल्ट्याइदिएको बताए । उनका अनुसार तरकारीमा विषादी प्रयोग कम भएसँगै बजार विस्तारका लागि सहज बनाउन कृषकहरूले कालीमाटी तरकारी बजारको मूल्य बिहानै मोबाइलमार्फत थाहा पाउन थालेका छन् ।

परियोजनाअन्तर्गत नगरका एक सय ९१ महिलासहित तीन सय कृषकलाई नमूना अगुवा कृषक, तीन सय ६२ लाई आइपिएम कृषक, दुई सय ४१ लाई साधारण आइपिएम कृषक र पशुपालन तथा अन्य चार सय २४ कृषक गरी कुल एक हजार तीन सय ३७ कृषक प्रत्यक्ष लाभग्राही बनाइएको थियो । यस्तै माध्यमिकस्तरका पाँच हजार दुई विद्यार्थीलाई विद्यालयमै रासायनिक मल तथा विषादीको असर र त्यसको न्यूनीकरणका उपाय र दिगो कृषिको अवधारणाका बारेमा कक्षा सञ्चालन गरिएको थियो ।
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो ः प्रतिवेदन
पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना (आइपीएम)ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्याङ्क सार्वजनिक गरेका छन् ।

पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका तरकारी परीक्षणसम्बन्धी आधारभूत सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणामबाट विषादीको प्रयोग कम गरी जैविक विषादीको प्रयोग धेरै हुन थालेको जनाइएको हो । खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५ प्यारामिटरमा विश्लेषण गर्दा विषादीको रुकावट (इमिसन रेट) ८५ प्रतिशत नमूनामा विषादीको कुनै पनि अवशेष नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्डभन्दा निकै कम प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : ५० बजे