१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


जन्मँदै हात खुट्टा नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दङ्ग



१५ चैत । मोरङको कटहरि ४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर भएकी छिन् ।

जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि जब आफैँ हिँड्ने उमेर भयो, उनले हिँड्नुको आनन्द कहिल्यै लिन सकिनन् । अर्कैको सहारामा उनले जिउनु प¥यो । आज उनलाई झापाको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाको पहलमा भारतको राजस्थानस्थित नारायण सेवा संस्थानले निःशुल्क रूपमा कृत्रिम हातखुट्टा प्रदान ग¥यो । “अब म पनि हिँड्न सक्ने भएकी छु”, उनले हर्ष प्रकट गर्दै भनिन् ।

गाउँकै भगवती आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत लक्ष्मीलाई बोकेरै घरबाट लैजाने र ल्याउने गर्दै आएकी उनकी आमा सरिताले अब नयाँ हात र खुट्टा लगाएर स्कुल ओहोरदोहोर गर्न सक्ने आशा गरिन् ।

नेपालमा हातखुट्टा नभएर कठिनाइपूर्ण जीवन व्यतित गरिरहेका शारीरिक अशक्तका लागि नारायण सेवा संस्थानको सहयोगमा आज मेचीनगर नगरपालिका २ को बाहुनडाँगीमा शिविरको आयोजना गरी ९६ जनालाई एक सय आठ हातखुट्टा निःशुल्क वितरण गरेको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताएका छन् ।

कृत्रिम हातखुट्टा पाउने कोशी र मधेस प्रदेशका विभिन्न जिल्लाका छन् । उनीहरूले गत माघ २१ गते बाहुनडाँगीमै आएर आफ्नो हातखुट्टाको नापजोख गराएका थिए । सोही आधारमा आज सबैलाई कृत्रिम हातखुट्टा वितरण गरिएको सहकारीका अध्यक्ष निरौलाले बताए ।

सुनसरीको खनारस्थित एउटा कारखानामा मेसिनले हात छिनाएपछि पाँचथरको मिक्लाजुङ २ का ३३ वर्षीय डिगेश्वर आङ्देम्बेले विसं २०७६ देखि एउटा हात गुमाउनुपरेको थियो । उनले पनि आज कृत्रिम हात पाइन्। “यो कृत्रिम हातले मलाई मेरो काटिएर तीन वर्षअघि गएको अङ्ग फर्किएर आएको जस्तो आनन्द भइरहेको छ”, उनले नयाँ हात लगाएपछिको अनुभूति सुनाउँदै भनिन् ।

भारतको सिक्किममा पहिरोमा परी देब्रे खुट्टा गुमाएका भद्रपुर नगरपालिका ३ का ६३ वर्षीय सञ्चराज लिम्बूले ११ वर्षपछि आफ्ना दुवै खुट्टाले टेकेर हिँड्न पाउँदा अपार खुसी लागेको बताए । “वैशाखीको भरमा नै अब जिन्दगी बित्छ होला भनेर निराश भएको थिएँ”, उनले खुट्टाका रूपमा जडान गरिएको सामग्री सुम्सुम्याउँदै भने, “भगवान्ले मेरो पुकार सुनेजस्तै लागेको छ । अब मेरो शरीरमा फेरि खुट्टा फर्किएको छ ।”

ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरको उपस्थितिमा आज ९६ जनालाई एउटै कार्यक्रममा कृत्रिम खुट्टा वितरण गरेको हो । उपसभामुख रानामगरले शारीरिक अशक्त नागरिकलाई कृत्रिम हातखुट्टा वितरण गरेकामा भारतको नारायण सेवा संस्थानको प्रशंसा गर्दै भारत नेपालका लागि असल छिमेकी भएको बताए । शारीरिक अशक्तको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविका र सम्मानपूर्ण जीवनयापनका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो । “आज कृत्रिम हात र खुट्टा पाउनु हुने बुबाहरुको आँखामा हर्षको आँसुसँगै ओठमा मुस्कान देखेको छु”, उनले भने ।

आफू पनि विपन्न र ग्रामीण परिवेशमा हुर्किएर सङ्घर्ष गर्दै आजको अवस्थामा पुगेको हुँदा समाजमा शारीरिक अशक्तको पीडा र समस्या आफूलाई थाहा भएको उनले बताए । उपसभामुख रानामगरको हातबाट ह्वीलचियर ग्रहण गर्दा मेचीनगर २ का वयोवृद्ध टेकनाथ भण्डारी खुशीले भक्कानिएका थिए । रुद्र गौरी ओली प्रतिष्ठानले भण्डारीलगायत चार शारीरिक अशक्तलाई ह्वीलचियर प्रदान गरेको थियो ।

मेचीनगर १३ दुहागढीमा रहेको लुना मल कारखानामा २३ वर्षअघि कार्यरत रहँदा मेसिन दुर्घटनामा परी स्थानीय ६२ वर्षीय हेमलाल सापकोटाले दाहिने हात गुमाउनुपरेको थियो । आज उनले कृत्रिम हात लगाउन पाएका छन् ।

नेपालमा आएर कृत्रिम हातखुट्टा निःशुल्क वितरण गर्न पाएकोमा नारायण सेवा संस्थान भारतका प्रतिनिधि हरिप्रसाद लड्डाले खुसी प्रकट गरेका छन् । उनले मानवीय आधारमा संस्थानले हालसम्म चार लाखभन्दा बढी मानिसलाई कृत्रिम हातखुट्टा वितरण गरिसकेको जानकारी दिए ।

कृत्रिम हातखुट्टा बैंक स्थापना

ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्था र हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाले मेचीनगर २ बाहुनडाँगीमा शारीरिक अशक्तका लागि आवश्यक पर्ने कृत्रिम हातखुट्टा, ह्वीलचियर र वैशाखीको बैंक स्थापना गरेका छन् । हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाका अध्यक्ष मुकुन्द नेपालले दाताहरूको सहयोगमा प्राप्त सामग्री बैंकमा जम्मा गरिने र आवश्यकताका आधारमा सही व्यक्तिको पहिचान गरेर वितरण गरिने बताए ।

हालसम्म बैंकलाई सयौँ दाताले ह्वीलचियर र वैशाखी सहयोग गरिसकेका छन् । दाताहरूमा वैदेशिक रोजगारीमा गएका र विदेशमै बसोबास गर्दै आएका नेपाली धेरै छन् । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानवीय सेवालाई मानिसले कोरेको राष्ट्रको सीमाले नछेक्ने उदाहरणको रूपमा भारतको नारायण सेवा संस्थानले नेपालमा आएर कृत्रिम हातखुट्टा वितरण गरेको भन्दै प्रशंसा गरे ।

कृत्रिम हातखुट्टाको बैंकका लागि नगरपालिकाले आवश्यक सबैखाले सहयोग पु¥याउने प्रतिबद्धता उनले व्यक्त गरे । बाहुनडाँगीमा कृत्रिम हातखुट्टा निर्माण गर्ने कारखाना सञ्चालन गर्नेतर्फ योजना बनाइरहेको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निरौलाले बताए ।
(रासस)

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : ०० बजे