‘कला, साहित्य र सूचना एक आपसमा अपरिहार्य भएकाले सहकार्य गरौं ।’
काठमाडौं
२५ चैत्र । रामेछाप सांस्कृतिक कलाकार समाजले ‘कलाकार कल्याणकारी कोष स्थापना’गर्ने भएको छ । नयाँ वर्षको अवसरमा बैशाख ९ गते काठमाडौंमा कल्याणकारी कोष स्थापनाका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिएका छन् ।
अनामनगरमा शुक्रबार पत्रकार सम्मेलनमा समाजका अध्यक्ष कार्कीेले स्रष्टा सम्मान, संस्थागत कलाकारलाई सम्मानसँगै रामेछापबाट निर्वाचित सांसदलाई सम्मान गरिने जानकारी दिए । उनले भने,‘कला, साहित्य र सूचना एक आपसमा अपरिहार्य भएकाले सहकार्य गरौं ।’
सांस्कृतिक कार्यक्रमबाट उठेको रकमलाई कल्याणकारी कोषमा राखिने संस्थाका उपाध्यक्ष सन्ध्या सानुले जानकारी दिइन्। उनले भनिन्,‘हामी कार्य समिति र सदस्यबाट पनि कोषका लागि रकम उठाउँछौं। अन्य दातासँग पनि सहयोग जुटाउन लागि पर्छौं।’
जिल्लाबासी कलाकारलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्यले हाललाई कम्तिमा ५ लाखको कोष स्थापना गर्न लागिएको महासचिव गोविन्द गौतमले बताए ।
कलाकार कल्याणकारी कोष सञ्चालनको लागि नियमावली बनाएर अगाडि बढ्ने उनको भनाई छ। नेपाली कला क्षेत्रको विकास र प्रवर्द्धनमा लामो समयदेखि कलाक्षेत्रको श्रीवृद्धिमा योगदान गर्दै आएका कलाकार अति समस्यामा परेको समयमा आवश्यक सहयोग गरिने संस्थाले जनाएको छ। सानो रकमबाट कोष स्थापना भएपनि भविष्यका लागि कलाकारका लागि कोष लाभदायक बन्ने उनको भनाई छ।
गौतमका अनुसार उक्त कार्यक्रममा रामेछाप काठमाडौं पत्रकार समाज मिडिया पार्टनर रहेको छ। रामेछाप सांस्कृतिक कलाकार समाज वि.सं. २०६६ सालमा स्थापना भएको हो। संस्थाका रामेछापका ८ वटै स्थानीय तहमा समन्वय समितिसमेत रहेका छन्।
प्रतिक्रिया