१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


मिठाईदेवीलाई बद्री पहाडी समाजसेवा पुरस्कार



 

१० बैशाख । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७९ श्री मिठाईदेवी बिश्वकर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ ।
झण्डै सात दशकदेखी सामाजिक न्यायको क्षेत्रमा गरेकी महत्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले मिठाईदेवी बिश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२०८० मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित बिश्वकर्मालाई पुरस्कृत गरिने समाजले जानकारी दिएको छ ।
वि.स.१९९३ फागुन १० गते इन्द्रचोक काठमाण्डौमा जन्मिएकी मिठाईदेवी बिश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुन् । पशुपतिनाथ मन्दिरमा “कुकुर र अछुतलाई प्रवेश निषेध” गरिदै आएकोमा त्यसको विरोध गर्दै वि.स २०११ सालमा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनी सक्रिय रुपमा सहभागी भएकी थिइन् ।
युवा अवस्थामै वि.स २०१२ सालमा उनीले नेपाल परिगणित नारी संघको स्थापना गरि सो संस्थामार्फत काठमाण्डौको दलित बस्तिमा विद्यालय स्थापना गरिन् र दलित समुदायका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएकी थिइन् । नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि संघर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धीमा योगदान गरेकी मिठाईदेवीले टी.आर. बिश्वकर्मासँग विवाह गरेपछि दलित मुक्तिको आन्दोलनमा उनको सक्रियता अझ बढेर गयो ।
उनले भारतीय दलित साहित्य अकादेमीद्वारा प्रदान गरिने डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार लगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् । मदर्स केयर स्कुलको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्रावासको स्थापनामा पनि उनको सक्रिय सहभागिता रहेको थियो ।
श्री बिश्वकर्माले पत्रकारिताको क्षेत्रमा पनि योगदान गरेकी छिन् र विभिन्न साप्ताहिक तथा मासिकको सम्पादन गरेकी छिन् । स्रष्टा बिश्वकर्माको “नेपाली नारीको अवस्था र अवस्थिति २०६१” नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ४ : ०२ बजे