५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन्दरीजलमै पाइँदैन पानी !



सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका हुन्

२७ वैशाख । मेलम्चीको पानी काठमाडौँ ल्याएर प्रशोधन गरिनेस्थल मुहानको रुपमा रहेको सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ ।
सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका हुन् । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव भएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढा जान बाध्य भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं. १ बाट २७।५ किमी सुरुङको दूरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं. १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा यो मौसममा काकाकुल बन्न थालेका हुन् । सुन्दरीजलबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा भने यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा लगिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं। २ आलापोटका स्थानीयवासी श्याम धिमाल खानेपानी खोज्दैमा दिन जाने गरेको गुनासो गर्छन् ।

स्थानीयवासी पानी खोज्न जाने धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । यस्तो समस्या भोग्ने धिमालमात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई यहाँका नगरपालिकाले प्राथमिकतामा राखेपनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या भने समाधान हुन सकेको छैन । संविधानमा पनि खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा स्थापित गरिएको छ । तर कार्यान्वयन भने हुन नसकेको पीडितको गुनासो छ ।

राजधानीमा मेलम्चीको पानी तेस्रोपटक आएको पाँच महिना पूरा भएपनि वाग्मतीको मुहान क्षेत्र र मेलम्चीको पानी प्रशोधन भएर वितरणका लागि लगिने स्थलका मानिसले पानी नपाएर तड्पिनु परेको गोकर्णेश्वर नगरपालिका वडा नं। १ पाथीभराका मङ्गलबहादुर तामाङको गुनासो छ । स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाएपनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको उनले सुनाए ।

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने धम्की दिने गरेपनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीर्काछन् ।

जनप्रतिनिधि र पीडित स्थानीयवासी लिमिटेडमा गएर कुरा राख्दा १५ दिनमा वाग्मतीको पानी गोकर्णेश्वर क्षेत्रमा दिने सहमति भएपनि पानी नआएको जानकारी पनि उनले दिए । धेरै नगरवासी वडा कार्यालय र नगरपालिकामा पटकपटक खानेपानीका लागि धर्नामा बस्ने गरेका छन् । पानी नपाएर स्थानीयवासी धर्नामा बसेपनि धारामा भने पानी आउँदैन ।

जनताकै घर आँगनमै पुगेको स्थानीय सरकारको ध्यान आधारभूत विषयमा भन्दा पनि अन्यत्र जाँदा जनजीविकाको यो महत्वपूर्ण समस्या समाधान नभएको हो । नगर क्षेत्रमा खानेपानी समस्या समाधान गर्न नसकेको गोकर्णेश्वर नगरपालिकाले देशव्यापी गजल महोत्सव गरेर समय र स्रोत सकाएको गुनासो पनि स्थानीयवासीले गरेका छन् । संविधानले तोकेको क्षेत्राधिकारभन्दा बाहिर गएर विगत तीन वर्षदेखि देशव्यापी रुपमा साहित्यिक प्रतियोगिता गर्दै आएको नगरपालिका खानेपानी समस्या समाधान गर्न भने नलागेको स्थानीय पासाङ तामाङले बताए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रवक्ता प्रकाश राई मुहान क्षेत्रमा पानीको अभाव रहेको बताउछन् । वाग्मतीबाट वितरणका लागि ल्याइएको पाइप पुरानो भएकाले चुहावट हुने गरेको र मेलम्चीको पानी सुन्दरीजलबाट ठूलो पाइपमा ल्याएर महाँकालचौरबाट मात्र वितरण हुने गरेकाले त्यस क्षेत्रमा पानीका अभाव भएको उनले जानकारी दिए । त्यस क्षेत्रमा खानेपानी समस्या समाधानका लागि योजना बनिरहेकाले केही समयमा समस्या समाधान हुने केयुकेएलले जनाएको छ । रासस

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : ३४ बजे