११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लुभु बजारको मलमुत्र ढलबाट गोदावरी खोलामा मिसाउदा प्रदुषण



ललितखबर
७ जेठ । गोदावरी खोलामा लुभु बजारको ढल राखेर मलमुत्र गोदावरी खोलामा मिसाएपछि अभियन्ताहरुले विरोध गरेका छन् । बजारको ढल लुभु पुलनजिकै ढल मिसाइएको छ ।
एकातिर निरन्तर खोला सरसफाई गर्दै जाने अर्कोतर्फ समुदायले खोलामा ढल मिसाउदै जाने भए सरसफाईको कुनै औचित्य नभएको भन्दै अभियन्ताहरुले आक्रोस पोखेका हुन् । गएको २ सय २२ हप्तादेखि सरसफाई भइरहे पनि लुभु बजारको ढल मिसाउन खोलामा पस्न समेत घिन लाग्ने भएको छ ।
मानव सभ्यताको प्रतिक रहेको खोला नाला फोहोर हुनुले शहरी सभ्यता र संस्कृतीको नास हुने, पर्यावरण र वातावरणमा गम्भिर असर पर्ने भन्दै अभियन्ताले शनिबार सरसफाई स्थलमा आक्रोस पोखे ।
गोदावरी सरसफाई अभियानकी अभियन्ता बेबी राजभण्डारीले खोलामा ढल नमिसाएसम्म खोला सफा नहुने बताइन् । भनिन्, ‘हामी चाँही खोला सफाई गर्न अहोरात्र खाईनखाई खटिने तर बस्तीबाट ढल मिसाएर खोला प्रदुषित गर्दै जाने हो भने सफा गर्नुको औचित्य छैन ।’
महालक्ष्मी ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ ढल विस्तारको बेला आफूहरुले ट्वाइलेट जोड्न नदिएको तर रातारात जोड्दा समस्या आइपरेको स्वीकार गर्छन् । उनी आफू ढल मिसाउनु हुदैन भन्ने पक्षमा रहेको बताउदै उनले करिडोर निर्माण भएपछि समस्या समाधान हुने आश्वासन दिए । भने, ‘करिडोरको टेण्डर भएको छ । अव समस्या समाधान होला ।’
महालक्ष्मी ८ का वडासदस्य विनोद केसीले लामाटारबाट आएको यो ढलमा ट्वाइलेट नजोडिएको दावी गरे । उनले लुभु क्षेत्रमा धेरै कपडा कारखाना भएको र कपडा रंगाउदा विभिन्न केमिकल मिसिएको पानी खोलामा हालिएको बताए । करिडोर सडक नजोडिएसम्म ढलको समस्या समाधान नहुने उनी बताउछन् ।


गोदावरी खोला करिडोर सडक टिकाथलीसम्म विस्तार भएको छ । करिडोर सडक विस्तारपछि सडकमा ढल राखेर खोलामा नमिसाई लैजाने जनप्रतिनिधिहरुको योजना छ । उनीहरु ढललाई करिडोर हुँदै सरकारले स्थापना गर्ने प्रशोधन केन्द्रसम्म लैजाने योजना बनाएको छन् । ढल व्यवस्थापनका लागि पटक पटक छलफल भएको वडासदस्य केसी बताउछन् ।
गोदावरी खोला सरसफाईमा जनप्रतिनिधिको दोहोरो भूमिका भएको भन्दै आलोचना हुने गरेको छ । जनप्रतिनिधिहरु एकातिर खोला सरसफाईमा पुगेर सरसफाईको पक्षमा चर्को भाषण गर्ने तर बस्तीबाट मलमुत्र खोलामा फ्याक्न समुदायलाई सहयोग गर्ने गरेको वातावरण क्षेत्रमा लाग्नेहरुले बताएका छन् ।
केही समयअघि खोला किनारमा प्रमुख जिल्ला अधिकारी र मेयर हरिगोविन्द श्रेष्ठ समेत पुगेर निरिक्षण गरेका थिए । ढल मिसाउनलाई कारवाही गर्ने घोषणा गरेका मेयर श्रेष्ठले आजसम्म कसैलाई पनि कारवाही गरेका छैनन् । खोलामा कपडा कारखानाबाट आएको केमिकलसहितको पानीले खोलालाई गम्भिर असर परिरहेको वातावरणविद् बताउछन् । केमिकलयुक्त पानीले नदिमा भएका जीवलाई समेत मार्ने हुँदा पर्यावरणमा असर गर्ने उनीहरुको भनाई छ ।
गोदावरी जंगलबाट बग्ने कञ्जन खोला लुभु पुलसम्म सफा छ । यहाँसम्म वरपरका बासिन्दाले नुवाउने र लुगा धुने गर्छन् । गोदावरीमा भने मुखै डुवाएर खान मिल्ने पानी छ ।
गोदावरी सरसफाईमा सहभागीहरुले खोलामा मलमुत्र मिसाएको देखेपछि आक्रोसित हुँदै विरोध गरेका थिए । शनिबारको सरसफाईमा ४ सयभन्दा धेरै प्रहरी, विद्यार्थी,वनरक्षक स्थानीय जनप्रतिनिधिहरुलगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ४ : ४९ बजे