७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गरियोस्ः सांसद भट्टचन



११ जेठ । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले ललितपुरको गोदावरीदेखि काठमाडौंको बुढानीलकण्ठ तथा काठमाडौंको थानकोटदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् । सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि बुधवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद भट्टचनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा मेट्रो रेलका लागि रकम छुट्ट्याउन माग गरेका हुन् ।

नेपालका एक प्रतिष्ठित व्यवसायी समेत रहेका भट्टचनले थानकोट–चित्लाङ सुरुङमार्गको काम अगाडि बढाएमा काठमाडौं उपत्यकाको जनसंख्याको चाप कम हुने सुझाव समेत दिए । सांसद भट्टचनले सरकारले अगाडि सारेको नयाँ अवधारणालाई हावादारी भन्न नमिल्ने बताए । उनले नेपाली झण्डाअंकित पानीजहाज सञ्चालनका लागि आवश्यक कानूनी बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराए ।

कलकत्ता बन्दरगाहमा आउन सक्ने पानीजहाज सञ्चालनमा ल्याउन सकेमा मलेसिया र सिंगापुरबाट हुने ढुवानीका लागि २ अर्ब विदेशी मुद्रा बचत हुने उनको भनाइ छ । सांसद भट्टचनले बाग्लुङको ढोरपाटन, राराताल तथा दामोदरकुण्डामा स्तरीय होटल सञ्चालनमा ल्याउन सके पर्यटन वृद्धि हुन सक्ने बताए । संसद्मा सम्बोधनका क्रममा सांसद भट्टचनले अन्य दुई गम्भीर विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘मुस्ताङमा खम्पा विद्रोह उठेपछि हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकप्टर सेवा सञ्चालन नभएको अवस्था छ । नेपालीलाई नेपालमा जाँदा पनि गृह मन्त्रालय र नागरिक उड्यन प्राधिकरणको सिफारिश तथा जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आवश्यकता छ । पहाडी क्षेत्रमा हेलिकप्टर सेवा सञ्चालनका लागि सहजीकरण गर्न जरुरी छ,’ भट्टचनले भने । सांसद भट्टचनले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण भविष्यमा संवैधानिक संकट आउन सक्नेतर्फ पनि सचेत गराएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १ : ४१ बजे