७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


लिङ्गो जुधाउने प्रतियोगिता दुईवटै गाउँका लिङ्गोे बराबरी



१७ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका ४ दग्नाममा भूमे पूजाको अवसरमा यो वर्ष समान उचाइका दुईवटै गाउँका लिङ्गोे बराबरी भएको  छ । स्थानीय अगुवा धनीलाल गर्बुजाका अनुसार करिब चार सय वर्ष पुरानो इतिहास बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो वर्ष पनि दग्नामवासीले निरन्तरता दिएका हुन् । विशेषगरी प्रकृति पूजाको रूपमा चिनिने भूमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँबीच लिङ्गोे जुधाउने गरिन्छ ।
हरेक वर्षको जेठ महिनामा मनाइने भूमे पूजाको अवसरमा आयोजना गरिएको लिङ्गो जुधाउने प्रतियोगितामा विगतमा झैँ गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाइएको थियो ।
दग्नामको भूमे पूजाको मुख्य आकर्षणको रूपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउँदै आएका छन् । प्रकृतिको पूजास्वरूप मङ्गलबार दग्नाममा भूमे पूजा पर्वको अवसरमा दुई गाउँका स्थानीयवासीले मुल्का डाँडामा ध्वजा पतकाले सिँगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएका थिए ।
दग्नामका वडा अध्यक्ष पविन गर्बुजाले जेठ १८ गतेदेखि सांस्कृतिक कार्यक्रम र त्यस पश्चात विविध खेलकुद कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अवलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामबासी लगायत अन्य छिमेकी गाउँका सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) पनि भूमे पूजामा सहभागी भई लिङ्गो जुधाइ प्रतियोगिताको अवलोकन गरेका थिए । स्थानीय पुर्ख्यौली गीत, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवका बीच स्थानीयबासीले बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउन लिङ्गोे जुधाएको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले जानकारी दिए ।
“यो हाम्रो संस्कृति हो, यसले दग्नामको पहिचान बोकेको छ, परम्परादेखि चल्दै आएको लिङ्गोे जुधाउने प्रतियोगितालाई निरन्तरता दिन हामी लागिरहन्छौँ”, उनले भने । केही वर्ष अगाडिसम्म दुई गाउँबीच प्रतिष्ठालाई बढावा दिएर लिङ्गो जुधाउने गरिने भए पनि पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिस्पर्धाको रूपमा लिङ्गो जुधाउने गरिएको छ ।
जेठा भूमेको रूपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनामा वर्षभरिको खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस्, स्थानीयवासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौंदेखि भूमे देवताको पूजा गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ३ : १५ बजे