१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकार उद्घाटन



२४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरे ।

बुटवल उपमहानगरपालिका– ३ गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म झन्डै तीन किलोमिटर दूरीको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ ।

यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजा आराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजा आराधनामा भारत गुहावटी र नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिनुभएको थियो । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।

यस अगाडि केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । सम्झौताअनुसार लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको दुई प्रतिशत रकम ती दुई पालिकाका लागि छुट्याउने छ । आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाण्डौको चन्द्रागिरि र भर्खरै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको जानकारी दिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : २२ बजे