९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


विश्वकप छनोटः नेपालले अमेरिकालाई हरायो



५ असार । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । जिम्बावेको हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

जितका लागि २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा भीम सार्की १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख १२ रनमा आउट भए । कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय इनिङ खेले ।

गजानन्द सिंह ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएर आउट भए । ओपनर सुशान्त मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । निर्शग पटेलले २५ बल खेलेर ८ रन बनाए । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे ।

यो जितसँगै नेपालले पहिलो जितका साथ शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । जितसँगै २ अंकका साथ नेपाल समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । अमेरिका भने पाँचौं स्थानमा झरेको छ ।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

मंगलबार नै भएको अर्को खेलमा घरेलु टोली जिम्बावेले नेदरल्यान्ड्सलाई हराएको छ । हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा जिम्बावेले ६ विकेटको जित हात पारेको हो ।

नेदरल्यान्डले दिएको ३ सय १६ रनको लक्ष्य जिम्बावेले ४० दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । जिम्बावेका लागि सिकन्दर राजाले ५४ बलमा ६ चौका र ८ छक्काको सहयोगमा १ सय २ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ३ : २९ बजे