२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भ्याट लगाउदा हवाई टिकट महँगो



 

७ असार । नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो ।

“नेपालमा हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर ज्यादै महँगो रहेकाले यही अवस्थामा भ्याटसमेत थप्दा भाडादर महँगो भई पर्यटक आवागमन नै घट्ने, नेपालमा भाडादर महँगो तथा सीमा नजिक हुँदा बागडोगरा, गोरखपुरलगायतका हवाईमैदान रोज्ने सम्भावना रहेको छ”, अध्यक्ष थापाले भने ।

सरकारले १० लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखिरहँदा उक्त निर्णयले गम्भीर असर पर्ने उनको भनाइ छ । नेपालमा मात्र भ्याट लगाउँदा नेपालका ट्राभल एजेन्सीले जारी गर्ने टिकट महँगो हुने र अनलाइन तथा विदेशबाट टिकट लिँदा सस्तो पर्ने भएकाले धेरै टिकट विदेशबाट लिने र विदेशी मुद्रा आर्जन गुम्नुका साथै ट्राभल एजेन्सीले दिएको रोजगारी र व्यवसायीसँग सरकारले पाइरहेको कर गुम्ने खतरा बढेको नाट्टाले जनाएको छ ।

नेपाली नागरिक विदेश घुम्न जाँदा यात्रुले पाएको विदेशी मुद्राको सहुलियतबाटै प्याकेज टुर खरिद गर्नुपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने नाट्टाको माग छ । भेटमा अर्थमन्त्री डा महतले नेपालको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीलाई समस्या नआउने तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।