५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही



अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ
१७ साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।
विभागले आर्थिक वर्ष २०७९÷८० मा देशभर अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो । विभागले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो ।
जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ
विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाएको बताउछन् । “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,” महानिर्देशक मिश्रले भने ।
कारबाही गरेकामध्ये सबैभन्दा धेरै काठमाडौँ कार्यालयले रहेको छ । काठमाडौँ कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।
सोही आवमा काठमाडौँमा मात्र ११ हजार चार सय ९१ व्यापारी कारबाही परेका छन् । यस्तै, पोखरामा दुई हजार एक सय ८९, बुटवलमा एक हजार दुई सय ४४, नेपालगञ्जमा एक हजार चार सय ७९, सुर्खेतमा पाँच सय एक, धनगढीमा एक हजार २६ व्यापारी कारबाहीमा परेका छन् ।
यस्तै, सिलगढीमा दुई सय दुई, वीरगञ्जमा एक हजार चार सय ३६, जनकपुरमा सात सय २५, विराटनगरमा दुई हजार चार सय ६ र झापामा एक हजार तीन सय ३४ व्यापारी कारबाही परेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता, ज्योति जोशी भट्ट गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याइने बताउनुहुन्छ ।  “जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ,” उनी भन्छन् । नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।
विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने ट्याक्सीको चेकजाँच गर्नेलगायतका कामबाट रु सात करोड १६ लाख ११ हजार ८५ राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।