अशोककुमार
३१ भदौं । चलचित्र नाङ्गो गाँउ गतशुक्रबारबाट चलचित्र हलहरुमा प्रर्दशन भइरहेको छ ।
नेपाली राजनीतिकको यतार्थ घटनामा आधारित चलचित्र नाङ्गो गाँउ गाँउपालिकाको अध्यक्ष जरि लामाले विद्यालयमा हस्तक्ष्ोप गरेपछि पढाइरहेको शिक्षक पासाङ राजनीतिमा धकेलिएको विषय उठान गरेको छ । कुचो र कैची चुनाव चिन्ह लिएर निर्वाचनमा उठेका जरि लामा र पासाङ पात्रहरुको कथा वरिपरि घुमेको छ ।
लामो समय चलचित्र बिटमा पत्रकारिता गरेका पत्रकार दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा सिने बजारमा सर्वाधिक रुचाइएको जोडी दयाहाङ राई र मिरुना मगरको जोडी हेर्न पाइन्छ ।
चलचित्रले पछिल्लो परम्परागत राजनीति संस्कार र पछिल्लो पुस्तामा आएको नयाँ राजनीतिक चेतलाई प्रस्तुत गरिएको छ । निर्देशक दिपेन्द्र लामाले नेपाली समाजले भोगिरहेको राजनीतिक अत्याचारलाई चलचित्रमार्फत देखाएका छन् ।
चलचित्र सफल हुनु वा नहुनु चलचित्र हेर्ने दर्शक समूहको प्रकृती र सोचमा पनि निर्भर हुन्छ । ग्रासरुट लेभलको दर्शकले चलचित्र हेर्ने हुँदा राम्रो दर्शक पाउने सम्भावना छ । नेपाली राजनीतिको र पनि सुन्न मन नपराउने नेपाली आधुनिक समाजले चलचित्रलाई स्वीकार गर्छ नै भनेर ठोकुवा भने गर्न सकिदैन ।
चलचित्रले राजनीतिक मुद्दा उठाएको छ । चलचित्रले उठाएको मुद्दा धेरै दर्शकले जायज नै मान्छन् । तर धेरै ठाँउमा सहमत नहुन सक्छन् । चलचित्रको अन्तय पनि दुखद छ । जसको कारण दर्शकलाई नरामाइलो लाग्छ ।
निर्देशक दिपेन्द्रले चलचित्रमा सिधा सिधा राजनीतिक खेल पर्दामा देखाएका छन् । चलचित्रको ट्रेलर हेर्ने दर्शकले नयाँ राजनीतिक उभार चलचित्रमा होला भन्ने शंका गरे पनि चलचित्रको कथा त्यतिमा मात्रै सिमित छैन ।
चलचित्रमा काभ्रे जिल्लाको बेथानचोक गाँउपालिका ढुंखर्कमा छायांकन गरिएकोले गाँउले दृश्य देख्न पाइन्छ । जुन चलचित्रको कथासँग राम्रोसँग मेल खाएको छ । चलचित्रमा निर्देशक ठाँउ ठाँउमा चुकेका छन् । चलचित्रमा बेथानचोक गाँउपालिकालाई नै नाम किटेर चलचित्रमा राजनीतिको फोहोरी खेल देखाइएको छ । जसका कारण यहाँका गाँउले र राजनीतिक दलहरुलाई आक्षेप लगाएको झैं दर्शकलाई भान पर्छ । चलचित्रमा काल्पिनिक गाँउ र राजनीतिक पात्र नै उचित हुन्थ्यो ।
चलचित्रमा यौनका विषयलाई भद्दा ढंगले प्रस्तुत गरिएको छ । यौनलाई कलात्मक ढंगबाट प्रस्तुत गर्न निर्देशक दिपेन्द्र लामा चुकेका छन् । जुन दृश्यले परिवारका सदस्यहरुसँगै बसेर हेर्न समेत अप्ठ्यारो पार्छ ।
चलचित्रमा निर्देशक लामाले गीतसँगीत,द्वन्द्वको मसला पनि राखेका छन् । पहिलो नम्बर, सुन सुन सुन्दरी गीत छन् । चलचित्रमा प्रयोग भएको सुन सुन सुन्दरी गीतको छायाँकन हेर्दा नै कृतिम लाग्छ । पहाडको टुप्पोमा डोकाभरि फूल राखेर छायाँकन गरिएको यस गीत स्वभाविक लाग्दैन ।
चलचित्रमा नेता पासाङमाथि धोकाधडीका विभिन्न दृश्य चलचित्रमा देखाइएको छ । शिक्षण पेशा गरेर जीविका चलाइरहेका पासाङ राजनीतिकमा लाग्न सहमत भएको बीचैका चुनाव नलड्ने घाषणा गरेको र पुन निर्वाचनमा होमिन तयार हुने आधार चलचित्रमा देखाइएको छैन ।
चलचित्र सुरु भएदेखि नै दर्शकलाई चुनाव कस्ले जित्ला भन्ने कौतुलता जगाउछ । चलचित्रमा हारेपछि नांगै घर फर्कने शर्तमा चुनाव लडेका जरि र पासाङको खिचातानी पर्दामा हेर्न लायक छ । यसले झन् रोमाञ्चकता थपेको छ ।
निर्वाचनमा पराजय भएपछि सबैले कपडा लगाएर घर फर्कन आग्रह गर्दा पनि जिद्दी गरेर नाङ्गै घर फर्केको दृश्य अमिल्दो लाग्छ । चलचित्र झन् राम्रो बनाउन चलचित्रका दृश्यहरुलाई निर्देशक लामाले कलात्मकता थप्नु जरुरी महसुस हुन्छ । चलचित्रको पात्र छनौटमा पनि कमी कमजोरी देखिन्छ ।
चलचित्रले दिन खोजेको सन्देस भने साह्रै चोटिलो छ । जसले दर्शकको मन छुन्छ । चामल र ‘पैसा बाँडेर चुनाव जितेर पाँच बर्षसम्म जनतालाई चुस्ने’जस्ता संवादले चलचित्रलाई जीवन प्रदान गरेको छ ।
सिनेमेट्रोग्राफर रामजी लामिछानेले चलचित्रको दृश्यलाई सुन्दर ढंगले देखाएका छन् ।
चलचित्र नाङ्गो गाँउमा कलाकार शिशिर बाङ्देलले खलपात्रको राम्रो भूमिका निभाएका छन् । चलचित्रमा बुद्धि तामाङ र रविन्द्र झको पुरानै चरित्र र अभिनय छ । जुन नयाँ र सुन्दर लाग्दैन । कर्म शाक्य र सामाज्ञी राज्यलक्ष्मी शाहको अभिनय उति जमेको छैन । पुरानै अभिनयले भद्दा लाग्छ । हिजो आजका कुराबाट नेपाली जगतमा उदाएका कर्म शाक्यको अभिनय ठाँउ ठाँउमा खड्किन्छ । सामाज्ञी राज्यलक्ष्मीको अभिनय पनि पुरानै डर्रा देखिन्छ । अंग्रेजी लवजमा बोल्ने उनको पुरानो पारा यहाँ पनि दोहोरिएको छ । उनले नयाँ अभिनय शिल्पीको प्रयोग गरेर नयाँ चरित्र निर्माणमा प्रयास नै गरेकी छैनन् ।
अभिनेत्री मिरुना मगर र दयाहाङ राईले पनि अभिनयमा कुशलता देखाएका छैनन । औषत छ ।
धेरै कमी कमजोरीका बीच चलचित्र औसत राम्रो बनेको छ । चलचित्रको सकारात्मक पक्ष मौलिक कथा र समसामयिक परिवेशमा चलचित्र बनाउनु नै हो । यो चलचित्रले एउटा युगको कथा भन्छ । जुन कामको दस्तावेज निर्देशक लामाले नेपाली समाजलाई छोडेर जानेछन् ।
प्रतिक्रिया