२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


उत्कृष्ट अभिनेता विपिन र अभिनेत्रीमा स्वस्तिमा पुरस्कृत



यो पुरस्कार राज्यले दिएको हो, त्यसैले यहाँ पुरस्कृत हुँदा थप दायित्व बढ्नुका साथै प्रोत्साहन मिल्छ । राज्यले सम्झिँदा हामीलाई छुट्टै ऊर्जा प्राप्त हुन्छ

काठमाडौँ

यस बर्षको उत्कृष्ट अभिनेता विपिन कार्की र अभिनेत्रीतर्फ स्वस्तिमा खड्का पुरस्कृत भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शित्तल निवासमा आयोजित विषेश कार्यक्रममा उनीहरुलाई पुरस्कार वितरण गरेका हुन् ।
‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा तेस्रो पटक उत्कृष्ट अभिनेता घोषित भएका अभिनेता विपिन कार्कीले यसको महत्व छुट्टै हुने बताएका थिए । अभिनेता कार्कीले भने, “यो पुरस्कार राज्यले दिएको हो, त्यसैले यहाँ पुरस्कृत हुँदा थप दायित्व बढ्नुका साथै प्रोत्साहन मिल्छ । राज्यले सम्झिँदा हामीलाई छुट्टै ऊर्जा प्राप्त हुन्छ ।”

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ तर्फ उकृष्ट चलचित्र ‘बुलाकी’ घोषित भयो । निर्देशकतर्फ चलचित्र ‘दिमाग खराब’ बाटै निश्चल बस्नेत, सम्पादकतर्फ चलचित्र ‘महाजात्रा’ बाट मित्रदेव गुरुङ, छायाँकारतर्फ चलचित्र ‘बुलाकी’ बाट शिव ढकाल, लेखन (कथा, पटकथा, संवाद) तर्फ चलचित्र ‘बुलाकी’ बाट राजबाहदुर साने पुरस्कृत भएका छन् ।

यस्तै, आदिवासी, जनजाति, मातृभाषी चलचित्रतर्फ लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ र व्यावसायिक सफल चलचित्र ‘जारी’ उत्कृष्ट घोषित भयो । निर्णायक समितिको तर्फबाट चलचित्र ‘टुल्की’ की अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियोे । उनीहरूलाई राष्ट्रपति पौडेल, सञ्चारमन्त्री गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरेका छन् ।

 

मैले अभिनय सुरू गरेको त्यो समयको सङ्घर्षको फल अहिले पाएको आभाष भएको छ । जुन क्षेत्रमा जीवन समर्पण गरेको छु, त्यहाँ सम्मानित हुन् पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन । यो मेरो जीवनको ठूलो उपलब्धि हो

कार्यक्रममा लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’, लिम्बू भाषाको चलचित्र ‘सुगुप’ र गुरुङ भाषाको चलचित्र ‘मार्कली’ लाई ‘विशेष चलचित्र’ घोषणा गरिएको थियोे । यस्तै, विसं २०६१ असोज १० गते चलचित्रको प्रिन्ट (रिल) ढुवानीका क्रममा सडक दुर्घटनामा परी ज्यान गुमाएका प्राविधिक सूर्यमान तुलाधरलाई ‘विशेष योगदान सम्मान’ सहित नगद रु ५० हजार प्रदान गरिएको थियोे । उक्त सम्मान स्वर्गीय तुलाधरकी श्रीमती अनिता तुलाधरले ग्रहण गरिन् ।
‘दीर्घ साधना सम्मान’ बाट अभिनेत्री चैत्यदेवी सिंहलाई नगद रु तीन लाख ७५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका छन् । नेपालको पहिलो चलचित्र ‘आमा’ मा अभिनय गरेकी अभिनेत्री सिंहले आफूले पाएको सम्मानले नयाँ उत्साह थपेको बताइन् ।

अभिनेत्री सिंहल भनिन्, “मैले अभिनय सुरू गरेको त्यो समयको सङ्घर्षको फल अहिले पाएको आभाष भएको छ । जुन क्षेत्रमा जीवन समर्पण गरेको छु, त्यहाँ सम्मानित हुन् पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन । यो मेरो जीवनको ठूलो उपलब्धि हो ।”

कलाकार त्यैयव शाह, विद्या कार्की, बुद्धी तामाङ, निर्माता तथा प्रदर्शक नरेन्द्र महर्जनसहित ११ जनालाई ‘विशेष योगदान सम्मान’ प्रदान गरिएको थियोे ।

 

सरकारले चलचित्रको महत्व सरकारले राम्रोसँग बुझेको छ । यसका लागि देखिएका कठिनाइलाई विस्तारै सुधार गर्दै अगाडि बढिरहेका छौँ

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिमार्फत नेपालको प्रकृति र संस्कृति समेटेर अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माण गर्न आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले चलचित्रलाई नेपालको पर्यटन उद्योगसंँग जोड्नसमेत आग्रह गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने,‘सरकारले चलचित्रको महत्व सरकारले राम्रोसँग बुझेको छ । यसका लागि देखिएका कठिनाइलाई विस्तारै सुधार गर्दै अगाडि बढिरहेका छौँ ।”
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले बनाएको योजना र गरिरहेको कामको नतिजा केही समयमा देखिने बताएका छन् । अध्यक्ष डिसील भने, “अहिले हामी विसं २०२६ को ऐनमा चलिरहेका छौँ । अहिलेको समयमा चलचित्र क्षेत्रलाई अगाडि बढाउन नयाँ ऐनको विकल्प छैन । त्यसैले यो हाम्रो आवश्यकतालाई यसैवर्ष पूरा गर्ने अठोट लिएको छु र यसमा सम्बन्धित निकायको पूर्ण सहयोग हुन्छ भन्नेमा विश्वस्त छु ।”

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ को निर्णायक समितिको संयोजक निर्देशक बद्रीबहादुर अधिकारी र सदस्यमा बोर्ड सदस्य रविचन्द्र अधिकारी, कलाकार सुशील, छायाँकार गौरीशङ्कर धुजु, सवनम मुखिया, निर्देशक दीपा पाण्डे बस्नेत र सोमप्रसाद खतिवडा रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ९ : ३० बजे