७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


नमोबुद्धका सुकुम्वासीलाई जग्गा दिने विषयमा जनप्रतिनिधिहरुको फरक फरक धारणा



धुलिखेल (काभ्रे)
१८ असोज । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने सम्बन्धमा जनप्रतिनिधिहरुको धारणा फरक फरक आएको छ ।
नमोबुद्ध मेयर कुनसाङ लामाको अध्यक्षता र सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलहरूसमेतको सहभागितामा आज बसेको व्यवस्थापन सहजीकरण समितिको बैठकमा सहभागी जनप्रतिनिधिहरुले फरक फरक मत राखे ।
बैठकमा मेयर लामाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई प्रचलित कानुन र नियमअनुसार जग्गा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको भन्दै यसले सरकारलाई फाइदा पुग्ने धारणा राखे ।
उपमेयर रत्नबहादुर लामाले मेयर लामा भन्दा फरक बिचार राख्दै गहिरो अध्ययन गरेर मात्रै यसबारे निर्णय लिनुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष मिण्डु लामाले जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबासीसँग कागजपत्र नभएको भन्दै निश्चित मापदण्ड बनाएर निर्णय गर्नुपर्ने भन्दै जसरी पनि भूमिहिनलाई जग्गा दिनु पर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक पुष्कर न्यौपानेले राज्यले सही नियतले व्यवस्थापन गर्न खोजे पनि भूमाफिया सक्रिय हुनु सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा बताए ।
वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठले अझै पनि निवेदन दिन धेरै छुटेको भन्दै पुनःअवसर दिनुपर्नेमा जोड दिए ।
वडा नं ७ का अध्यक्ष धर्मसिंह लामा र वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङले व्यावहारिक पक्षलाई हेरेर अव्यवस्थित बसोबासीलाई जग्गा दिन निश्चित मापदण्ड बनाएर मात्रै प्रक्रिया बयाउनु पर्ने बताए ।
 नगरपालिकाभित्र १४ परिवार भूमिहीन दलित, ७० परिवार सुकुम्वासी र नौ सय ७८ अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ । अझै छुट भएको हुन सक्ने भन्दै समितिले पुनःसूचना प्रकाशनको लागि आयोगलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
यसअघि नगरपालिकाले सबै वडामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिसकेकोमा ३५ दिनको म्याद दिएर सङ्कलित आवेदन रुजु भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ४ : ३९ बजे